
काठमाडौं, १३ पुस । व्यवस्थापिका संसदमा आजदेखि संविधान संशोधनको विधेयकमाथि सैद्धान्तिक छलफल सुरू भएको छ । मधेसी मोर्चाको अबरोध र घेराउका बीच संसदमा संविधान संशोधनमाथि सैद्धान्तिक छलफल सुरू भएको हो ।
संसदको आजको बैठकमा सैद्धान्तिक छलफलमा सहभागी हुँदै एमालेका सांसद केशवप्रसाद बडालले संशोधन प्रस्तावले धेरै हदसम्म आन्दोलनरत समूहका माग सम्बोधन हुने बताउनुभयो । उहाँले संशोधनमा रहेको जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण तथा राज्यका हेरक अंगामा समानुपातिक र समावेशी प्रतिनिधित्व रहने बताउनुभयो ।
एमाओवादीका सांसद गौरीशंकर चौधरीले अहिलेको जल्दोबल्दो समस्यालाई समाधान गर्न संशोधन विधेयक सरकारले ल्याएको बताउनुभयो । भारत, अमेरिकालगायतका विश्व देशहरूमा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र हुने गरेको उदाहरण दिँदै सांसद चौधरीले कम जनसंख्या रहेको क्षेत्रको पनि प्रतिनिधित्व रहने बताउनुभयो ।
सांसद चौधरीले सीमाङ्कनमा देखिएको बिवाद अन्त्य गर्नका लागि सरकारले छिटो छलफल गरेर अर्को विधेयक सदनमा दर्ता गराउन सुझाव दिनुभयो । संविधान संशोधनको सैद्धान्तिक छलफल अर्को बैठकमा हुनेछ ।
नारावाजी गरिरहेका मधेसी र थारु सांसदहरू थाकेको देखिएको थियो । उनीहरू सुरूमा चर्का नारावाजी गरे पनि अन्त्यमा खासै नारावाजी गर्न सकेका थिएनन ।












प्रतिक्रिया