
काठमाडौं, ११ पुस । मोरङको विराटनगरस्थित जोगवनी नाकाबाट पक्राउ परेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरीको पञ्जाबाट उम्किन सफल भएका छन् ।
शनिबार अपराह्न पक्राउ परिसकेका महतो प्रहरीलाई झुक्याएर भारततिर भागेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार धर्नामा बसेका आन्दोलनकारी हटाउने क्रममा महतोलाई प्रहरीले समातिसकेको थियो तर, प्रदर्शनकारीको हुलले प्रहरीमाथि आक्रमण गरेपछि महतो भाग्न सफल भए ।

मोरङका प्रहरी प्रमुख एसपी तारणीप्रसाद लम्सालले पक्राउ गर्न खोज्दा प्रदर्शनकारीले महतोलाई भगाएको बताए । उहाँले भन्नुभयो- ‘उनीहरुले नाका अवरोध गर्न खोजे, हामीले रोक्न खोज्यौ । झडप भयो । हामीमाथि ढुंगामुढा गरे । ढुंगा हान्ने पाँच जनालाई समात्यौ । महतोलाई समात्न खोज्दा एक हुल प्रदर्शनकारी आएर खोसेर लगे । त्यतीबेला झडपै भइरहेको थियो । महतोलाई लिएर उनीहरु भारततिर भागे ।’
एसपी लम्सालले अहिले स्थिती सामान्य भइसकेको र नाका सूचारु भएको जानकारी दिनुभयो । ‘हामीले राजेन्द्र महतोलाई पक्राउ गर्न खोजेकै हौं तर, मधेसी मोर्चाका कार्यकर्ताले भगाएर भारततिर लगे,’ उहाँले भन्नुभयो- ‘महतो घाइते भएको खबर पाएका छौं । उहाँमाथि हामीले आक्रमण गरेको होइन् । उहाँको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको सूचना आएको छ । आन्दोलनकारीको आक्रमणमा एक जना प्रहरी जवान घाइते भएका छन् ।’

महतोमाथि कसले आक्रमण गर्यो भन्नेबारेमा केही थाहा हुन नसकेको एसपी लम्सालको दाबी छ । यता मधेसी मोर्चा तथा सदभावना पार्टीले प्रहरीको आक्रमणबाट महतो घाइते भएको दाबी गरेको छ ।
महतोको नेतृत्वमा नाका अवरोध गरी धर्ना बस्न खोज्दा आज अपराह्न विराटनगरको जोगवनी नाकामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।













प्रतिक्रिया