
काठमाडौं, ११ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच सकारात्मक वार्ता भएको छ ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा भएको वार्तामा मधेस आन्दोलनका माग समेटेर परिमार्जन गरी संविधान संशोधन विधेयक अगाडि बढाउन कांग्रेस तयार भएको छ ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले वार्ता सकारात्मक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– मधेसका जायज माग सम्बोधन गर्नेगरी संशोधन विधेयक परिमार्जन गर्नेबारेमा छलफल भयो । त्यसमा हामी सकारात्मक छौं ।
यसैबीच कांग्रेस, एमाओवादी र मधेसी मोर्चाको त्रिपक्षीय वार्ता भर्खरै सुरु भएको छ । वार्तामा सहभागी हुन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्ज आइपुगेका छन् ।
मधेस आन्दोलन, संसदको गतिरोध, संविधान संशोधन र नाकाबन्दी खोल्ने विषयमा सहमति खोज्न वार्ता भइरहेको छ ।
वार्तामा कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्रराय यादव लगायतको सहभागिता रहेको छ ।












प्रतिक्रिया