काठमाडौं, ११ पुस । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आज आफ्नो पदबाट राजीनामा दिन लाग्नु भएको छ ।
उहाँले राजीनामा दिएलगत्तै नयाँ अध्यक्षमा लोकेन्द्रबहादुर चन्दलाई सर्वसम्मत निर्णय गर्ने तयारी राप्रपामा भएको छ ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आज काठमाडौंको बसुन्धरास्थित एक पार्टीप्यालेसमा बस्दैछ ।
पूर्व सहमतिअनुसार बैठकमा राणाले अध्यक्ष पदबाट राजीनामा दिइ वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई अध्यक्षमा प्रस्ताव गर्नुहुने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
सो प्रस्तावलाई वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने गिरीले बताउनुभयो ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका लागि तीन शीर्ष नेता अध्यक्ष राणा, वरिष्ठ नेताद्वय चन्द र डा.लोहनीबीच भएको सहमतिअनुसार पार्टीको अध्यक्षमा चक्रीय पद्धतिअनुसार हुनेछ ।
बैठकमा सरकारको कामकारबाही, मुलुकको पछिल्लो राजनीतिक अवस्था र मधेस आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालय विभाजन गरेकोमा सो विषयमा पनि छलफल केन्द्रित हुने र सरकारलाई दिएको समर्थनमा के गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।












प्रतिक्रिया