काठमाडौं, ११ पुस । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रधानमन्त्री केपी ओलीले आफू मनपरी गर्न थालेको भन्दै मन्त्रालय विभाजनको बिरोध गर्नुभएको छ । उहाँले प्रशासन सुधार आयोगको सुझाव विपरित मन्त्रिमण्डल ठूलो बनाएर मन्त्रालय विभाजन गरेको आपत्ति जनाउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरागर्दै प्रवक्ता शर्माले भन्नुभयो, ‘मन्त्रालय विभाजनको कुरा थाहा पाएर हाम्रो अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई फोन गरेर मन्त्रालय नफुटाउन आग्रह गर्नुभएको थियो । तर प्रधानमन्त्रीले मान्नु भएन ।’
यस्ता कार्यले जनतामा नकारात्मक सन्देश जाने भन्दै एमाओवादी प्रवक्ता शर्माले भन्नुभयो, ‘सरकारले गलत काम गर्दै जाने हो भने त्यसलाई समर्थन गरेर सरकारमा बसी रहन सकिँदैन । सरकारलाई दिएको समर्थनमा पुनःविचार गर्नुपर्छ । अपजस लिन एमाओवादी तयार छैन ।’
उहाँले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने पक्षमा एमाओवादी नरहेको बताउँदै भन्नुभयो, ‘मन्त्रालय विभाजनको विषय हाम्रो रुची र समर्थनको विषय होइन ।’
प्रधानमन्त्री ओलीले शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकबाट पुनः मन्त्रालयहरू विभाजन गरेपछि एमाओवादीको विरोधसहितको प्रतिक्रिया आएको हो ।












प्रतिक्रिया