इलाम, ८ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतले केही समय नेपाललाई नाकाबन्दी गरेपनि अन्ततः फिर्ता लिन बाध्य भएको बताउनुभएको छ ।
इलाम क्षेत्र नं. १ को दानाबारीमा आज आयोजित मतदातासँगको कुराकानीमा उहाँले भारतीय नाकाबन्दीले नेपालको समग्र विकास निर्माण प्रभावित भएकाले नाकाबन्दी लामो समय टिक्न नसक्ने बताउनुभयो ।
दानाबारी क्षेत्रमा सञ्चालन भएका विभिन्न विकास निर्माणको अवलोकन गर्नुहुँदै उहाँले निर्वाचन क्षेत्रमा अपुरा रहेका विकास निर्माणका कामलाई चाँडै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिनुभयो ।
दानाबारी र चिसापानी गाविसमा निर्माण सम्पन्न भएको सानिमा माई हाइड्रोपावरको अवलोकनको क्रममा उहाँले खोलाहरूको सदुपयोग गरी नेपाललाई विजुलीमय बनाउन र यसबाटै देशमा आर्थिक उन्नति गर्नुपर्नेमा जोडदिनुभयो ।
एक फरक प्रसङ्गमा नेता खनालले नेपालको संविधानले सबै जातजातिलाई समान अधिकार दिएको र कसैलाई चित्त नबुझे प्रक्रियागतरूपमा संशोधन गर्न सकिने भएकाले आफ्नो देशको समस्या समाधान गर्न विदेशीलाई गुहार्न नहुने बताउनुभयो ।
उहाँले आफू प्रधानमन्त्री भएका समयमा इलामको गोदकस्थित राजदुवाली–चिसापानी–दानाबारी हुँदै झापाको दुर्गापुर जाने सडकको कालोपत्रे गर्न बजेट विनियोजन गरेको प्रसङ्ग उल्लेख गर्नुभयो । रासस












प्रतिक्रिया