काठमाडौं, ६ पुस । राष्ट्रपति विद्या भण्डारीमाथि भएको दुर्व्यवहार तथा त्यसपछि भएको तोडफोड घटनाको छानविन गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
यही पुस १ गते विवाह पञ्चमीका अवसरमा पूजापाठ गर्न जनकपुरको जानकी मन्दिर पुग्नुभएका राष्ट्रपति भण्डारीमाथि मधेसी मोर्चाका कार्यकर्ताले दुर्व्यवहारका साथै ‘विधवा’ र ‘अलच्छिनी’ जस्ता शब्द प्रयोग गरेर अपमान गरेका थिए ।
मन्दिरमा समेत तोडफोड गरेका स्थानीय आन्दोलनकारीले एकल महिला मन्दिर भित्र प्रवेश गर्दा मन्दिर ‘अशुद्ध’ भएको भन्दै गंगाजल छर्किएका थिए ।
उक्त घटनाको छानविन गर्न सोमबार गृह मन्त्रालयले सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो । समितिले घटनाको छानविन गरी सात दिनभित्र प्रतिवेदन बुझाई सक्नुपर्नेछ ।
समितिको सदस्यमा प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्त पाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल रहनुभएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालद्धारा विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आइतबारको मन्त्रिपरिषद बैठकले घटनाका दोषिलाई कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।














प्रतिक्रिया