१ कार्तिक २०८३, शनिबार

एउटा मधेशी मोर्चा आन्दोलन चर्काउँदै, अर्को मोर्चा सरकारमा जाने वातावरण मिलाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ५ पुस । सरकारले बेवास्ता गरेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिवारदेखि थप कडा आन्दोलन चर्काएको छ ।

मधेशमा रहेको अर्को मोर्चा संघीय समावेशी मधेशी गठबन्धनका नेताहरू भने प्रधानमन्त्रीसंग भइरहेको निरन्तर वार्तालाई सकारात्मक भएको निष्कर्षका साथ बालुवाटारसंग आफ्नो नजदीकी बढाउंदै छन् ।

जेपी गुप्ता, शरद सिंह भण्डारी, अनिल कुमार झा र राजकिशोर यादव सम्मिलित गठबन्धन र प्रम ओली बीच बालुवाटारमा कैयौं पटक वार्ता भइसकेको र हरेक वार्ता पछि यी नेताहरूको प्रतिक्रिया र सत्तारूढ गठबन्धनका अन्य घटकसंगको बढ्दो हिमचिमले सरकारमा केही मधेशी दलहरू थपिने संकेत देखा परेको छ ।

प्रम ओलीसंगको भेटपछि संघीय मधेशी गठबन्धनका नेताहरू जेपी गुप्ता, शरद सिंह भण्डारी, राजकिशोर यादव र अनिल कुमार झाले वार्ता निकै नै फलदायी भएको र प्रम ओलीले आफ्ना मागबारे निकै नै लचिलो रहेको प्रतिक्रिया दिँदै आई रहेका छन् । बालुवाटारको बैठकमा निरन्तर सहभागी हुने नेताहरू तमरा अभियानका देवेश झा, रामसपाका केशव झा र नेसपाका राजीव झाले आ–आफ्नो फेसबुकमार्फत वार्ता बारे निकै उत्साहित प्रतिक्रिया लेखेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरू लाई कुनै भाव नदिएको भन्दै साना मधेशी दलहरूका नेताले अर्को मोर्चा गठन गरेका थिए । तमलोपा केन्द्रीय कार्यालय बिजुली बजारमा हालै सम्पन्न संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको बैठकमा मधेशी गठबन्धन र सरकारसंगको वार्ताबारे करिब घण्टाभरि चर्चा चलेको थियो । सरकारले आफ्नो मोर्चालाई नजरअन्दाज गरेको र समानान्तर मोर्चालाई महत्व दिएको भन्दै उपेन्द्र यादव र महन्थ ठाकुरले आपत्ति जनाएका थिए । आफ्नो मोर्चालाई कमजोर गर्दै जाने र अर्को मोर्चासंग सहमति गर्ने सरकारी योजनाबारे आशंका पनि व्यक्त गरिएको थियो ।

Morchaस्रोतले बताए अनुसार शरद, जेपी, अनिल र राजकिशोरको मोर्चासंग सरकार सहमतिको धेरै नजिक पुगेको छ । तीन महिनाभित्र सीमांकनसहित सबै माग पूरा हुने गरि राजनीतिक सहमतिमा सरकार र मधेसी गठबन्धनले हस्ताक्षर गर्ने, संसदमा प्रस्तुत गरिएको संविधान संशोधन विधेयकलाई केही परिमार्जन गरि पारित गर्ने आन्तरिक सहमति भएको बुझिएको छ । बालुवाटारमा यस मधेश गठबन्धन र सरकारी पक्षबीच भएको वार्तामा यस्तो सहमति भएको गठबन्धनका एक नेताले नाम नखुलाउने शर्तमा दैनिक नेपाललाई जानकारी गराएका थिए । उक्त वार्तामा प्रम ओली सहित झलनाथ खनाल, भीम रावल, बिजय गच्छदार समेतको उपस्थिति थियो ।

सरकारी पक्ष यो सहमति हुनेमा पुरै विश्वस्त छ । यो सहमति भए उपेन्द्र, महन्थ, राजेन्द्रको मोर्चाको आन्दोलन कमजोर हुंदै जाने, भारतले गरेको नाकाबन्दी खुल्न दबाब पर्ने र मधेशमा सत्ता पक्षधर नेतालाई जान सजिलो वातावरण बन्ने अनुमान गरिएको छ । उपेन्द्र राजेन्द्रहरूको मोर्चाको आन्दोलनलाई जसरी पनि तह लगाउने, उनीहरूले गरेको मागलाई प्रतिद्वन्दी मोर्चामार्फत सहमति गरि सम्बोधन गर्ने रणनीतिको तहत सत्ता पक्षले तयारी शुरू गरेको छ । सरकारका वरिष्ठ मन्त्रीहरूले पनि मधेशी मोर्चा तयार नभएपनि संविधान संशोधन विधेयक हर हालमा पारित गराउने अभिव्यक्ति दिई सकेका छन् ।

प्रतिद्वन्दी मोर्चाले पनि आफूसंग राजनीतिक सहमतिमा हस्ताक्षर भए संविधान संशोधन विधेयक पारित गर्नको लागि सदनभित्र सहयोग गर्ने वचन दिएको छ । साथै सहमति र संविधान संशोधनपछि मधेशका जिल्लाहरूमा सरकार र गठबन्धनको संयुक्त सभाहरूको आयोजन गरि मधेशमा रहेको भ्रमलाई निवारण गर्न सहयोग गर्ने वाचा दिएका छन् । स्रोतले दिएको जानकारी अनुसार यस्तो सहयोग बापत संघीय समावेशी मधेशी गठबन्धन सरकारमा समेत सहभागिताको इच्छा देखाएको छ ।

सरकारका उपप्रधानमंत्री तथा फोरम लोकतांत्रिकका अध्यक्ष बिजय गच्छदार मार्फत शरद, अनिल र राजकिशोरले सरकारमा सम्मानजनक स्थानपाए सहभागी हुन सक्ने सन्देश बालुवाटार पठाएका थिए । गठबन्धनको उक्त प्रस्तावमा प्रम ओली र एमाले पार्टी दुबै सकारात्मक रहेको कुरा फोरम लोकतांत्रिकका एक वरिष्ठ नेताले जानकारी दिएका छन् ।

१६ बुँदे सहमतिमा हस्ताक्षर गरेको कारण गच्छदारलाई मधेशी मोर्चाबाट निष्कासित गरिएकोमा अहिले गच्छदारले त्यसको बदला लिन मधेशी गठबन्धन बनाउन सहयोग गरेका थिए । मोर्चा बाहिर रहेका सबै दलहरूलाई एउटै गठबन्धन बनाई गच्छदारले नै प्रम ओलीलाई दबाब दिई गठन भएको दोस्रो दिननै वार्तामा आउन पत्र समेत पठाउन लगाएका थिए । प्रम ओलीसंग भएको प्रत्येक भेटको समय गच्छदारले नै मिलाई दिएको र नयाँ राजनीतिक सहमतिमा हस्ताक्षर गर्नेदेखि लिएर गठबन्धनलाई सरकारमा सम्मिलित गराउने योजनामा रहेका छन् ।

संघीय समावेशी गठबन्धनमा आबद्ध शरदको तीन र अनिल झा तथा राजकिशोरको १–१ सांसद गरि कुल ५ सांसद छन् । फोरम लोकतांत्रिकका ती नेताका अनुसार एउटा मन्त्री, एउटा राज्य तथा एउटा सहायक मन्त्री दिने आन्तरिक तयारी समेत भइरहेको छ ।