गौर, ५ पुस । रौतहटको सदरमुकाम गौरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा परी एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
बीपी चोकमा भएको झडपमा आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि जवाफी कारवाहीमा प्रहरीले गोली चलाउँदा तेजापाकड–१ का १७ वर्षीय शेख तबरेजको मृत्यु भएको हो । प्रहरीको गोली लागेर अन्य तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीले शान्तिपूर्ण आन्दोलन नगरे गोली चलाउने बाध्य हुने चेतावनी दिएपनि मोर्चाका कार्यकर्ता अटेर गरी प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि गोली चलेको हो । प्रदर्शनकारीको आक्रमणबाट २ जना प्रहरी पनि घाइते भएका छन् ।
यसअघि भएको झडपमा प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो ।
कर्फ्यू लगाइयो
रौतहटको स्थानीय प्रशासनले प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गौरमा कर्फ्यू आदेश जारी गरेको छ । अपराह्न ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको हो ।













प्रतिक्रिया