धनगढी, ४ पुस । नेकपा (एमाले)का उपाध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री भीम रावलले विधिको शासन, मानवसेवा, देशको समृद्धि र विकासको लागि मुलुकमा दिगो शान्ति स्थापना गर्नुपर्ने बताउनु भएको छ ।
उपप्रधान एवं रक्षामन्त्री रावलले शनिबार धनगढी जेसिजको ३३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै देशको समृद्धि र विकासका युवा शक्ति परिचालन गर्न देश र समाजमा तत्कालको सकारात्मक वातावरणको आवश्यक रहेको बताउनुभयो । उहाँले जुन समाजमा द्वन्द्व हुन्छ र अशान्ति हुन्छ त्यो समाजमा विधिको शासन स्थापित नहुने बताउनुभयो ।
‘नेपालको संविधान, २०७२ मा धारा १८ देखि धारा ४८ सम्म मौलिक हकको व्यवस्था गरिएको छ’ उहाँले भन्नुभयो ‘मधेसी, महिला, दलित, थारू, आदिवासी जनजाति, पिछडिएका वर्गहरूका लागि राष्ट्रिय समावेशी आयोगको व्यवस्था छ ।’
उहाँले मिश्रित निर्वाचन प्रणाली र जनसंख्याको आधारमा निर्वाचन प्रणालीलगायतको विशेषाधिकार दिइएकोले त्यसको कार्यान्वयनका ध्यान दिनुपर्ने बताउनुभयो ।
‘भारतको संविधानमा ८५ वर्षसम्म निर्वाचन क्षेत्र परिवर्तन नहुने व्यवस्था छ, नेपालमा २० वर्षमै निर्वाचन क्षेत्र परिवर्तन हुने भनेका छौं,’ उहाँले भन्नुभयो ‘संविधान सामानुपातिक भएन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र छैन भन्नु कागले कान लग्यो भन्दैमा कान नछामेर कागको पछि लागे जस्तै हो, सबैले संविधानको अध्ययन गर्नुपर्छ ।’













प्रतिक्रिया