२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चालाई खनालले भने- संसद्बाटै आन्दोलनको समाधान खोज, नाका छोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath-khanalइलाम, ४ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संसद्बाट पुनःनिर्माण विधेयक पारित भइसकेकाले पुनःनिर्माण प्राधिकरण चाँडै गठन हुने बताउनुभएको छ ।

आज बिहान इलाममा रासस सम्वाददातासँग सङ्क्षिप्त कुराकानी गर्दै नेता खनालले भूकम्प र नाकाबन्दीले देश जर्जर स्थितिमा पुगेकाले प्राधिकरण गठन गरेर तत्काल काम अघि बढाउने बताउनुभयो ।

मधेसवादी दलले राखेका मागका विषयमा सरकार गम्भीर भएको बताउँदै उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा मधेसवादी दलबीच कुरा भइरहेको छ, अझै त्यसलाई टुङ्गोमा पु¥याउन गृहकार्य भइरहेको छ ।”

अहिलेको चुनौतीयुक्त परिस्थितिमा सबै दल एकताबद्ध हुन जरूरी छ भन्दै उहाँले वर्तमान संविधानले सबै क्षेत्र, समुदायको प्रतिनिधित्व गरेकाले विश्वमै उदाहरणीय संविधान बनेको जिकिर गर्नुभयो ।

संविधानले सबैको समस्याको ढोका खोलेको बताउँदै उहाँले भन्नुभयो, “चित्त नबुझेको कुरा संसद्बाटै समाधान गर्नुपर्ने र नाकामा बसेर मुलुकलाई अप्ठ्यारो पार्नु हुँदैन् ।”

भूकम्प र नाकाबन्दीको मौका छोपी देशमा कालोबजारी बढिरहेकाले त्यसप्रति नेपाली नागरिक सचेत हुनुपर्ने धारणासमेत राख्नुभयो ।

आफ्नो एक हप्ता लामो जिल्ला बसाइँमा उहाँले जिल्लामा सञ्चालित विभिन्न विकास निर्माणका गतिविधिको निरीक्षण तथा आफूले लगानी गरेका विकास निर्माणको समेत अनुगमन गर्ने बताइएको छ । रासस