१ कार्तिक २०८३, शनिबार

चलचित्र कलाकार संघमा मण्डले प्रवृत्तिको अन्त्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalakar Sanghकाठमाडौं । नेपाल चलचित्र कलाकार संघमा प्रजातान्त्रिक विचार बोक्ने कलाकारहरूले यस पटक बर्चस्व जमाएका छन् । अघिल्लो पटकको कार्यसमितिमा ‘मण्डले’ प्रवृत्तिका नायक तथा निर्देशक, निर्माता नवल खड्काले कब्जा जमाएका थिए ।

कहिले एमाले, कहिले एमाओवादी त कहिले कांग्रेस हुँ भन्दै कलाकार संघमा हालिमुहाली गरेका खड्काको यस पटक ढाड सेकिएको छ । खड्काले समर्थन गरेका समूहले यस पटक नराम्रोसँग पराजय भोगेको छ ।

नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि शनिबार बेलुका भएको निर्वाचनमा अध्यक्ष पदमा रामकेशर बोगटी बिजयी भएका छन् । स्रोतका अनुसार बोगटीले प्राजातान्त्रिक विचारलाई समर्थन गर्छन् । उनी स्वतन्त्रका तर्फबाट उम्मेदवारी दिएका थिए ।

तर बोगटीलाई सबै बिचारधार बोक्ने कलाकारहरूले समर्थन गरेका थिए । संघका निवर्तमान सचिवसमेत रहेका बोगटीले १४ औँ साधारणसभाबाट निकटतम प्रतिद्वन्द्वी लय संग्रौला (एमाले) लाई ७८ मतले पराजित गरेर विजयी हासिल गरेका हुन् ।

स्वास्नीमान्छे भनेपछि हुरुक्कै हुने फिल्म भने ‘लोग्ने मान्छे’ बनाउने संग्रौलाले अध्यक्षमा जित्छु भनेर गफ दिँदै हिँड्ने गरेका थिए । एमालेका खाँटी कार्यकर्ता सँग्रौलालाई कलाकारहरूले अन्तिम चरणमा उत्तानो पारिदिएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

हारेपछि चकित परेका सँग्रौला आजकाल अनामनगरतिर घाममा गफिँदै आफूलाई सहयोग नगर्नेहरूलाई कारबाही गर्ने चेतावनी दिँदै हिँड्ने गरेका छन् । केटी र रक्सी मोहका कारण सँग्रौलाले हार ब्यहोर्नु परेको उनकै सहयोगीहरूको भनाइ छ ।

कलाकारको नाम भजाएर कमाउन खप्पिस शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता विशाल विष्टले १० मतमा चित्त बुझाउनु परेको छ ।

अनामनगरका चियापसल र भट्टी पसलहरूमा ‘मैले जित्छु’ भन्दै कुखुरे छाती र लामो कपाल देखाउँदै हिँड्ने विशालले दस मत मात्रै पाएपछि चित्त दुःखएर हिँड्ने गरेका छन् । निर्वाचनमा बोगटीले २ सय ३८ मत पाएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्व एमालेका संग्रौलाको पक्षमा १ सय ६० मत मात्रै खसेको थियो । अध्यक्षमा जित्छु भन्दै पैसा खर्च गरेको दाबी गरेका सँग्रौला अहिले दिउँसै केटी र रक्सी लिएर हिँड्ने गरेको देख्नेहरूले बताउँछन् ।

बोगटीलाई हराउन कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्का (मण्डले), निर्देशक सुरज सुब्बा (एमाले) र राजावादी मोहन निरौला टुप्पी कसेर लागेका थिए ।

खड्काले त कलाकारहरूलाई एसएमएस गरेर बोगटीविरुद्ध क्याम्पेनिङसमेत गरेका थिए । अरुले भने बोगटीलाई मतदान नगर्न भनेको एक कलाकारले बताए । संघको २१ सदस्यीय नयाँ कार्यसमितिमा एमाले समर्थक रेजिना उप्रेती उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

सानुकुमार ताम्राकार (स्वतन्त्र) पनि उपाध्यक्षमा विजयी भएका छन् । रेजिनाले १ सय ८१ मत र ताम्राकारले २ सय ७७ मत प्राप्त गरेका थिए । त्यस्तै महासचिव पदमा सरिता लामिछाने (कांग्रेस)ले २ सय २५ मत प्राप्त गर्दै विजयी भएकी छिन् ।

उनको प्रतिद्वन्द्वी कृष्ण ढुंगाना (एमाओवादी)ले १ सय ७१ मत पाएका थिए । सचिव पदमा १ सय ९६ मतका साथ चेतबहादुर सिंह ‘राजा’ (कांग्रेस) बिजयी भएका छन् । उनका प्रत्यासी सञ्जय खतिवडाले १ सय ८८ मत पाएका थिए ।

त्यस्तै कोषाध्यक्षमा बिमला केसी (एमाओवादी) २ सय ४ मतका साथ बिजयी भइन् । उनका प्रतिस्पर्धी आकाश खवास (कांग्रेस)ले १ सय ९० मतमा चित्त बुझाए ।

सदस्यमा अभिनेता गजित विष्ट (कांग्रेस)ले अन्य पदाधिकारीलाई उछिन्दै सर्वाधिक २ सय ८७ मत पाएका थिए । अन्य सदस्यतर्फ शिवहरी पौड्याल (कांग्रेस), सविन श्रेष्ठ, देवीराम पराजुली ‘भोक लाग्यो’ (कांग्रेस), अशिष्मा नकर्मी (कांग्रेस), विष्णुप्रसाद सापकोटा ‘हर्के हवल्दार’ (एमाओवादी), कविता गेलाल शर्मा, शिवहरी नेपाल बैरागी (कांग्रेस) र धनबहादुर बमजन (कांग्रेस), रस्मी भट्ट (कांग्रेस) सदस्यमा निर्वाचित भएका छन् । यसअघि सह–कोषाध्यक्षमा अभिनेत्री नन्दिता केसी (कांग्रेस) निर्विरोध निर्वाचित भएकी थिइन् ।

यसैबीच, मंसिर २७ गते बसेको नयाँ कार्यसमितिको बैठकले केही पदाधिकारी र सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । समितिले उपाध्यक्षमा लक्ष्मी गिरीलाई नियुक्त गरेको छ भने मनोनीत सदस्यहरूमा सुनिल भट्टराई (कांग्रेस), भानुभक्त ढकाल (एमाले) र कविता आचार्य रहेका छन् ।

बैठकले वरिष्ठ कलाकार नीर शाहलाई आफ्नो संरक्षकमा नियुक्त गरेको संघका नवनिर्वाचित अध्यक्ष बोगटीले जानकारी दिए । ‘वरिष्ठ कलाकारहरूलाई सम्मान गर्ने हाम्रा कार्यसमितिको योजना छ’, बोगटीले भन्ने–‘कलाकारको हकहितका लागि लाग्ने छौं ।’

संघको अर्को बैठक पुस– २ गते बस्नेछ । बैठकले विभिन्न सांगठनिक र कलाकारहरूका विषयमा निर्णय गर्ने बोगटीले उल्लेख गरे ।