काठमाडौं, २९ मंसिर । भाडाको कोख (सरोगेसी) प्रविधिबाट नेपालमा जन्मिएका शिशुलाई विदेश लैजाने क्रम ह्वात्तै बढेको छ।
गृह मन्त्रालयले सरोगेसीबाट जन्मिएका शिशुलाई सम्बन्धित देश लैजान दिन अध्यागमन विभाग र सीमा क्षेत्रका कार्यालयलाई परिपत्र गरेको ४० दिनमा ७६ शिशु नेपाल बाहिरिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
यस्ता शिशु बाहिरिने क्रम अझ बढ्ने अनुमान छ। यसबाट अवैध मानिएको सरोगेसीबाट बच्चा जन्माउने गिरोह नेपालमा ठूलै रहेको प्रमाणित हुँदै गएको छ।
अध्यागमन विभागका निर्देशक विश्व न्यौपानेका अनुसार इजरायल, क्यानडा, अस्ट्रेलिया, ब्राजिल, अस्ट्रिया, बेलायत, अमेरिकालगायत मुलुकका नागरिकले नेपालमा सरोगेसीबाट जन्माएका शिशु लग्ने क्रम बढेको हो । न्यौपानेले भने, ‘गृह मन्त्रालयले उक्त निर्णय गर्नासाथ नेपालमा सरोगेसीबाट जन्मिएका शिशु लैजाने क्रम बढेको छ र यो अझै बढ्न सक्छ।’
उनका अनुसार सोमबारमात्रै बेलायतका नागरिकले नेपालमा सरोगेट आमाबाट जन्मिएका दुई शिशुलाई लगेका छन् । सरोगेसीबाट शिशु जन्माएर लैजानेमा सबैभन्दा बढी इजरायल र क्यानडाका नागरिक छन् ।
सर्वोच्च अदालतले सरोगेसीमा रोक लगाउन आदेश दिएको मितिसम्म जन्मेका शिशुहरूलाई सम्बन्धित देशमा लैजान दिने निर्णय गर्दै गत कात्तिक १२ गते अध्यागमन विभाग र सीमा कार्यालयलाई परिपत्र गरेको थियो ।
त्यसअघि सर्वोच्चले निःसन्तानका लागि सरोगेसी मदरको प्रविधि र प्रक्रिया गैरकानुनी मात्र नभई मानव मूल्यविरुद्ध रहेको दाबीसहित परेका दुई रिट निवेदनमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले ‘सरोगेसी’ सम्बन्धी सम्पूर्ण कारबाही रोक्न र धन्दा बन्द गर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै गृह मन्त्रालयले अध्यागमन विभागमार्फत सबै अध्यागमन र सीमा कार्यालयलाई त्यस्ता शिशु सम्बन्धित मुलुकमा लैजान रोक लगाएको थियो। सर्वोच्च र सरकारले सरोगेसीमा प्रतिबन्ध लगाएपछि सरोगेसीबाट जन्मिएका र गर्भमा रहेका शिशुको हकमा के हुने भन्नेमा अन्योल थियो।
गृह मन्त्रालय, सीमा तथा अध्यागमन प्रशासन प्रमुख कृष्ण ज्ञवालीले अन्योल छाइरहेका बेला विभिन्न मुलुकबाट कूटनीतिक दबाब बढेपछि महान्यायाधिवक्ताको रायअनुसार जन्मिसकेका र गर्भमा रहेका शिशुलाई मावनताको हिसाबमा आफ्नो देश लैजान दिने निर्णयमा पुगेको बताए।















प्रतिक्रिया