काठमाडौं, २८ मंसिर । आइतबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको त्रिपक्षीय वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कडा आलोचना भएको छ ।
सत्तारुढ दल नेकपा एमाले, एमाओवादी र आन्दोलनरत मधेसी मोर्चाले पनि कांग्रेसको आलोचना गरेको हो । वार्तामा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडलेले पनि नेताहरुको हप्काई खानुपरेको थियो ।
वार्ता सुरु गरौं भन्दा पौडेलले पुनर्निर्माण प्राधिकरण र संविधान संशोधन प्रस्ताव सँगसँगै अगाडि बढाउनुपर्ने बताए । तर, मधेसी मोर्चाले भने प्राधिकरणका लागि मात्रै संसद बैठक अवरुद्ध नगर्ने भन्यो । उता कांग्रेस भने संशोधन प्रस्ताव अगाडि नबढाएसम्म संसद चल्न नदिने अडानमा थियो ।
त्यही बेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ फर्काए- कांग्रेसजस्तो पार्टीले एजेण्डा खोजेर भौंतारिनु पर्दैन । तपाईहरुको एजेण्डा संसदमै छ, कहीँ खोज्न जानुपर्दैन ।
मधेसी मोर्चालाई क्रान्तिकारीको संज्ञा दिदै ओलीले अहिले क्रान्तिकारीसमेत सहमतिमा आउन लागेका बेला कांग्रेसले एजेण्डा खोजेर भाउँतो हाल्नु ठीक नहुने बताए । उनले कांग्रेसले कुखुरे चित्त देखाउन नहुने भन्दै कांग्रेसलाई हप्काए । कांग्रेसले शब्दमा निहुँ खोजेर बस्छ भने भूकम्प पीडित जनतामाथि योभन्दा अत्याचार के हुन सक्छ ?’ ओलीले हप्काउँदै भने ।
प्रधानमन्त्री ओलीपछि एमाओवादी अध्यक्ष प्रचण्ड निकै आक्रोशमा आए । रामचन्द्रजीले पटक–पटक भन्नुभएको कांग्रेसको एजेण्डा के हो ? मधेसी मोर्चाका तर्फबाट प्रश्न आएपछि पौडेलले भने–हाम्रो पालामा दर्ता गएको संविधान संशोधन विधेयक । उनले प्राधिकरण विधेयक र संविधान संशोधन विधेयक एकैपटक पेश गर्नुपर्ने अडान राखेपछि प्रचण्ड जंगिए ।
पौडेललाई प्रचण्डले हप्काउँदै भने- केको एजेण्डा ? संविधान संशोधन विधेयक शुरुमा तपाईहरुले हामीसँग सल्लाह नगरी ल्याउनुभयो । पछि हामी सबै बसेर परिमार्जन गरेका हौं । अब, यो प्रस्ताव तपाईको मात्रै पेवा होइन, हामी सबैको हो ।















प्रतिक्रिया