
काठमाडौं, २८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट पार्टीका संस्थापक सदस्य खगुलाल गुरुङलाई सम्मान गर्नुभएको छ ।
आइतबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले २००७ सालको राणाविरोधी आन्दोलनका सेनानी, किसान आन्दोलनका नेता, नेपाल कम्युनिस्ट पार्टी प्यूठानका संस्थापक ९८ वर्षीय बयोबृद्ध कम्युनिस्ट नेता गुरुङलाई सम्मान गर्नुभएको हो ।
गुरुङलाई सम्मान गर्दै राष्ट्रपति भण्डारीले दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्नुभयो । उहाँले भन्नुभयो– तपाई अग्रजहरुकै संघर्षले हामीले आज यो जिम्मेवारी पाएका छौं । सम्मान गर्न पाउँदा खुसी लागेको छ ।’
कार्यक्रममा कम्युनिष्ट नेताहरु मोहनविक्रम सिंह, मोहन वैद्य, सूर्य थापा, सभासद् दुर्गा पौडेल, कृष्णध्वज खड्का, कृष्णगोपाल श्रेष्ठ, रामप्रसाद आचार्य र राजेन्द्र सापकोटासहित गुरुङका छोरा थमन गुरुङ सहभागी हुनुभएको थियो ।

यसैबीच कम्युनिष्टका संस्थापक नेता गुरुङलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पनि सम्मान तथा अभिनन्दन गर्नुभयो । सोमबार विहान पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले खादा र टीका लगाइदिएर गुरुङलाई अभिनन्दन गर्नुभएको हो । त्यसक्रममा महासचिव पोखरेलले ‘कम्युनिष्ट एक ठाउँमा उभिनुपर्ने’ गुरुङको विचारको प्रशंसा गर्नुभयो ।
गुरुङले सबै कम्युनिस्टहरु एकजुट भएर भूमिसुधार लागू गर्नुपर्ने, स्थानीय चुनाव अविलम्ब गर्नुपर्ने, नारीकोट–रामखोला–पिपलारुख स्कुलसम्मको मोटर बाटो निर्माण गर्नुपर्नेजस्ता आफूले अभिनन्दन समारोहमा सार्वजनिक गरेका मागहरु पूरा गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।
यसअघि आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुलुकका सबै कम्युनिस्ट नेताहरुले आइतबार गुरुङको सार्वजनिक अभिनन्दन गर्नुभएको थियो ।












प्रतिक्रिया