काठमाडौं, २७ मंसिर । केन्द्रीय कार्यालय, शीर्ष नेतानिवास, संसदीय दल र प्रभावशाली केन्द्रीय सदस्यको घरमा दैनिक भीड बढ्न थालेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
तलका अधिवेशन र महाधिवेशन तालिका
वडा, गाउँ, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन २२ माघमा, जिल्ला अधिवेशन २५ माघमा,१३औँ महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुनेछ ।
महाधिवेशनमा करिब चार हजार प्रतिनिधि
महाधिवेशन व्यवस्थापन समितिका संयोजक भीमसेनदास प्रधानका अनुसार करिब चार हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । एक निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिसहित १२, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक क्षेत्रीय अधिवेशनद्वारा निर्वाचित क्षेत्रीय सभापतिसहित १२–१२ प्रतिनिधि छानिन्छन् । हालका केन्द्रीय समितिका सबै, भ्रातृसंस्थाबाट ५–५, शुभेच्छुक संस्था, शिक्षक संघ, नेपाल आदिवासी जनजाति संघ, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट पनि प्रतिनिधि छानिन्छन् ।
व्यवस्थापन गर्न विभिन्न उपसमिति
महाधिवेशनमा देश तथा विदेशबाट आउने प्रतिनिधिका लागि खाने–बस्ने व्यवस्था, सञ्चारमाध्यम, मञ्चको व्यवस्थापन गर्न उपसमितिहरू गठन भएका छन् ।
क्रियाशील सदस्यता विवाद अझै टुंगिएन संगठन विभाग प्रमुख आनन्द ढुंगानाका अनुसार क्रियाशील सदस्यता छानबिन समितिले अझै सदस्यताको अन्तिम टुंगो लगाउन सकेको छैन ।
केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको छानबिन समितिले काम गरिरहेको छ ।
१२औँ महाधिवेशनमा ३ लाख १७ हजार क्रियाशील सदस्य थिए । १३औँ महाधिवेशनसम्म ५ लाख नघाउने तयारीस्वरूप सदस्यता फारम वितरण भएको थियो ।
तर, आफू निकटलाई सदस्य बनाउने नेताहरूको होडबाजीले धेरै ठाउँमा सदस्यता वितरणमा विवाद भएको थियो ।
विधान संशोधन गर्न सुझाब माग
केही समयअघि बसेको विधान संशोधन समिति बैठकले पार्टी संरचना र राज्य पुनर्संरचनापछि स्वरूपका विषयमा जिल्ला कार्यसमिति, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई २० मंसिरभित्र लिखित सुझाब दिन निर्देशन दिएको थियो ।
विधानमा ३० जिल्ला र केही भ्रातृसंस्थाबाट सुझाब आइसकेको र बाँकीलाई मंसिर मसान्तसम्म सुझाब दिन भनिएको छ ।
के–के संशोधन गर्ने तयारी छ ?
पदाधिकारी बढाउने र प्रादेशिक संरचनाअनुसार पदाधिकारीहरूलाई सोही क्षेत्र हेर्ने विधान बनाउने गरी छलफल चलेको छ । जिल्ला सभापति दुई कार्यकालभन्दा बढी लड्न नपाउने व्यवस्था संशोधन गर्ने विषयमा पनि छलफल चलेको छ । तर, महाधिवेशन नजिकिादै गए पनि संशोधनको तयारी तीव्र नभएको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउछन् ।
महाधिवेशन खर्च तीन करोडभन्दा बढी
चार दिनसम्म चल्ने महाधिवेशनमा तीन करोडभन्दा बढी खर्च हुने कांग्रेसको अनुमान छ । कार्यक्रमस्थल, ७५ जिल्ला र विदेशबाट आउने प्रतिनिधि, आमन्त्रित विदेशी प्रतिनिधिको व्यवस्थापन गर्न त्यति खर्च हुने अनुमान गरिएको हो । तर, संगठन विभाग प्रमुख आनन्द ढुंगानाले खर्च यति नै लाग्छ भन्ने टुंगो नभएको बताए ।















प्रतिक्रिया