काठमाडौं, २७ मंसिर । गत असोज २४ मा सम्पन्न प्रधानमन्त्रीको निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाको सम्बन्ध सामान्य औपचारिकतामा सीमित छ ।
पछिल्लो समय सिटौला कोइराला निवास धाउन छाडेका छन् । १३ औं महाधिवेशन नजिकिदै गर्दा कोइराला र सिटौलाको सम्बन्धमा झनै दरार आउने संकेतहरु देखिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
झापाको राजनीतिमा सीमित गिरिजाप्रसाद कोइरालाको सामिप्यबाट सिटौलाले राजनीतिक उचाई लिएका हुन् । उनको निधनपछि सुशीलको विश्वासपात्रको रुपमा उनी भित्रिए ।
गिरिजाप्रसादको निधनपछि नेतृत्वको संक्रमणकालीन चरणमा सुशील सिटौलाकै भरमा थिए ।
सिटौलाले पनि विश्वासपात्रकै रुपमा सुशीललाई सघाए । त्यही विश्वासले १२ औं महाधिवेशनपछि सिटौलाले महामन्त्रीको जिम्मेबारी पनि पाए ।
तर, यो घनिभूत सम्बन्ध लामो समय टिकेन । सिटौला चाहन्थे, कोइराला सानो कोटरीबाट बाहिर निस्केर आफ्नो सुझाव अनुसार चलुन् ।
तर प्रधानमन्त्री निर्वाचनसम्म आइपुग्दा सिटौलाको सुझाव उनले मानेनन् । पार्टीमा उनी सानै कोटरीमा रमे ।
सरकारको नेतृत्वमा छँदा महेश आचार्य, नरहरी आचार्य र मीनेन्द्र रिजाल सुशीलका सहयोगीको रुपमा भित्रिए ।
आफ्नै समूहभित्र जो सिटौलालाई मन पराउदैनथे उनीहरुकै आग्रह बमोजिम कोइराला पछिल्लोपटक सिटौलालाई दुरीमा राख्न थाले ।















प्रतिक्रिया