नवलपरासी, २६ मंसिर । उखु बेचेको रकमले छोरीको बिहे गर्ने योजना बनाएका नवलपरासी गुठीप्रसौनीका रामनाथ गुरौं यतिबेला निराश छन् ।
पहिलेकै बाँकी पैसा लिन प्रतापपुरस्थित इन्दिरा सुगर मिल पुगेका गुरौंलाई पाउनुपर्ने रकमको पर्ची (रसिद) जम्मा गरेर जान भनियो । रकम लिन सात दिनपछि मात्रै आउनू भनेपछि उनी छोरीको बिहे कसरी उम्काउने भन्ने पिरलोमा छन् ।
गुरौंले छोरीको बिहे मंसिर २७ गतेका लागि तय गरिसकेका छन् । गत वर्ष एक बिघा जग्गामा लगाएको उखुको ७० हजार रुपैयाँ अझै उनले पाएका छैनन् । पर्ची जम्मा गरेर उद्योगबाट बाहिरिँदै गरेका गुरौंले लामो सुस्केरा हाल्दै अन्नपूर्णसँग भने, ‘उखुको पैसा पाइएन, अब गाउँमै ऋण खोज्नुपर्ला।’
एक वर्षदेखि नदिएको रकम भुक्तानी गर्न उद्योगले अझै एक साता पर्खनुपर्ने जबाफ दिएको अन्नपूर्ण पोष्ट दैनिकले समचार छापेको छ ।
गुरौंमात्र होइन, नवलपरासीको दक्षिण भेगका अधिकांश किसानले गत वर्ष उखु मिललाई दिएको उखुको बाँकी भुक्तानी नपाउँदा दैनिकी चलाउन चर्को ब्याजमा ऋण खोज्नुपर्ने बाध्यता छ।
मंगलबार कुडियाको बागमती चिनी उद्योगमा रकम लिन पुगेका सोमनीका दीपकराज शर्माले गत वर्षको तीन लाख रुपैयाँ अझै पाउन नसकेको गुनासो गरे।
‘उखु खेती लगाउन मैले दुई वर्षअघि कृषि विकास बैंकबाट पाँच लाख रुपैयाँ ऋण लिएको थिएँ’, शर्माले भने, ‘पूरा रकम नपाउँदा अहिलेसम्म सावाँको त कुरै छाड्नुस्, महिनैपिच्छे ब्याज दिन पनि धौधौ छ ।’ उनले अघिल्लो वर्ष ८ बिघामा उखु लगाएका थिए।
बागमती र लुम्बिनी चिनी उद्योगमा उखु दिएका उनले बागमतीबाट पेस्की रकम पाए पनि लुम्बिनीबाट भने त्योसमेत नपाएको दुखेसो पोखे ।
अहिले किसानको खेतमा बिक्रीका लागि उखु तयार भइसकेको छ तर गत वर्षकै भुक्तानी नपाएका किसान यसपालि पनि उधारोमै उखु बिक्री गर्नुपर्ने बाध्यताले निराश बनेका छन्।
केही किसानले भने घरखर्च चलाउन सख्खर उद्योग (क्रसर) लाई सस्तोमा उखु बेच्न थालेका छन् । नर्सहीका कमल राजभरले छोराको स्कुलको शुल्क नतिरेको वर्ष दिन पुग्न लागेको छ। मिलले उखुको भुक्तानी नदिँदा समस्या परेको उनले बताए।
राजभरले भने, ‘छोराको फि तिर्न स्कुलले बारम्बार ताकेता गरेको छ। घरखर्च चलाउनसमेत मुस्किल भएपछि नजिकै रहेको सख्खर उद्योगमा लगेर २ सय रुपैयाँ प्रतिक्विन्टलमा उखु बेचें।’
राजभरजस्तै धेरै किसान घरको गर्जो टार्न सस्तोमा क्रसर उद्योगलाई उखु बेच्न बाध्य छन्। भनेको बेला रकम नपाउने र मूल्य पनि निर्धारण नहुने भएकाले धेरै किसान त उखुखेती छाडेर मसुरो, बदाम, केरालगायत खेतीतर्फ लागेका छन् । प्रतापपुर पजरकट्टी गाउँका रवीन्द्रकुमार यादवले भने, ‘अब म कहिल्यै उखुखेती लगाउँदिनँ ।’ गत वर्षको दुई लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको पुर्जी देखाउँदै यादवले हरेक वर्ष दुई बिघामा उखुखेती लगाउँदै आएको बताए ।
गुठीप्रसौनी ९ झोलीपुरका गुलाब चौधरीले चार बिघा खेतमा लगाएको उखुको रकममध्ये २ लाख रुपैयाँ अझसम्म नपाएकाले वैकल्पिक खेतीमा लाग्न बाध्य भएको बताए। बेलाटारीका नाथुराम चौधरीले पनि रकम नपाउँदा अरूजस्तै आफूले पनि अन्य खेती गर्न लागेको बताए।















प्रतिक्रिया