काठमाडौं, १७ मंसिर । संविधानमा असन्तुष्टि जनाउँदै विगत दुई महिनादेखि अघोषित नाकाबन्दी गरिरहेको भारतले केही दिनमै आपूर्ति सहज बनाउने भएको छ ।
भारतीय पत्रिका द हिन्दूले परराष्ट्रमन्त्री कमल थापासँग दिल्लीमा लिएको अन्तर्वार्ताअनुसार अब भारतले छिट्टै नाकाबन्दी हटाउन लागेको हो । अन्तरवार्तामा थापाले तीन चरणमा कार्यान्वयन हुने गरी मधेसी मोर्चासँग समझदारी भएको बताएका छन् । जसमा तीन महिनाभित्र सीमांकनको विषय टुंग्याउने र अन्य विषय(संविधान संशोधन) तत्काल अघि बढाउने रहेका छन् ।
भारत भ्रमणबाट फर्किएर पनि मन्त्री थापाले दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै केही दिनमा नै परिणाम देखिने गरी सुधार हुने बताएका छन् ।
यता प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार पनि मधेस मुद्दामा तीनबुँदे सम्झौतापछि नेपाल र भारतबीच देखिएको असमझदारी अन्त्य भएको दाबी गरिएको छ । दिल्ली भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए । र प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाएका थिए । ओलीको सन्देश सुनेपछि त्यहीबेला प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री स्वराजसँग समेत टेलिफोन वार्ता भएको थियो । उक्त वार्ताले नेपाल र भारतबीच देखिएको असमझदारी हटेको बालुवाटारका अधिकारीको दाबी छ ।
स्रोतका अनुसार भारतले चाँहेको मधेसका तीन मुद्दामा सरकारले तीन चरणमा राजनीतिक समझदारी गर्ने सहमति जनाएपछि भारतसँग कुरा मिलेको हो । जसमा समानुपातिक समावेशीताको सुनिश्चितता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रका लागि तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाउने र सीमांकनबारे मधेसी मोर्चाको मागमा भने राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुंग्याउने सरकारको तयारी छ ।
परराष्ट्रमन्त्रीको अन्तर्वार्ता र बालुवाटार स्रोतको दाबी ठ्याक्कै मिल्छ । जसले भारतसँग तीनबुँदे समझदारी भएको प्रष्ट हुन्छ । तर, यो समझदारी मधेसी मोर्चासँग नभएको स्रोतको दाबी छ । यो समझदारीपछि अब भारतले पारवहन र आपूर्तिमा गर्दै आएको अवरोध क्रमिकरुपमा हटाउने देखिएको छ । भारतले मधेस आन्दोलनलाई देखाउँदै दुई महिनादेखि अघोषित नाकाबन्दी गर्दै आइरहेको छ । भारतले नाकाबन्दी खोले मधेस आन्दोलन रोकिने सम्भावना छ ।













प्रतिक्रिया