काठमाडौं, १७ मंसिर । भारतको माथिल्लो संसद राज्यसभामा नेपाल-भारत सम्बन्धबारे बहस सुरु भएको छ ।
तर, बहसका लागि छुट्याइएको एक घन्टाको समय कम भएको भन्दै बैठक स्थगित भएको छ । सांसदहरुले बहसका लागि समय मागेपछि राज्यसभाले अर्को बैठकमा कम्तिमा साढे ३ घन्टा लामो छलफल गर्नेगरी समय तोकेको छ ।
आजको बहसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको परिस्थितिबारे लिखित मन्तव्य पढेर सुनाईन् । त्यसपछि राज्यसभामा ध्यानाकर्षण पत्र दर्ता गराएका जीडीयूका सांसद पवनकुमार बर्माले नेपालमा संविधान जारी गर्नु केही दिन अघि मात्र किन विशेष दूत पठाइयो भन्दै प्रश्न गरे । तर, उनले तीन मिनेटमा आफ्नो कुरा राख्न नसकपछि राज्यसभाको सभापतित्व ग्रहण गरिरहेका उपसभापतिले बेल बजाएर उनलाई रोके । उनलाई रोक्दा विपक्षी सांसदहरुले संसदमा हंगामा मच्चाए ।
त्यसपछि फेरि विदेशमन्त्री सुष्माले बीचैमा उठेर सांसदहरुको भावनाको कदर गर्दै लामो छलफलका लागि समय थप्नुपर्ने सुझाव संसदलाई दिईन् । बैठकमा अधिकांश सांसदहरुले नेपालबारे छलफल सार्वजनिक र गम्भीर भएको भन्दै लामो छलफल आवश्यक भएको बताएपछि परराष्ट्रमन्त्री स्वराजले सोमबारको मिति प्रस्ताव गर्दै साढे ३ घन्टाको साटो ४ घन्टा छलफल गर्न आग्रह गरिन् । तर, उपसभापतिले अर्को बैठकको समय तय गर्ने बताए । यसरी नेपालबारे प्रश्न उठ्दा राज्यसभा स्थगित भएको हो ।













प्रतिक्रिया