३० आश्विन २०८३, शुक्रबार

नेपाली समाज टेक्सासबाट ‘भाग्यले बाँचेकाहरू’को विशेष प्रदर्शन (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Texas-Bhagyale bachekaharu (2)
टेक्सास । संचारकर्मी गणेश पाण्डे निर्देशित चर्चित वृत्तचित्र भाग्यले बाँचेकाहरु अमेरिकाको टेक्सास शहरमा पनि प्रदर्शन गरिएको छ ।
नेपाली समाज टेक्सासको आयोजनामा शुक्रबार साँझ टेक्सासको ड्यालसमा भएको प्रदर्शनीमा अमेरिका भ्रमणमा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद दीपक गिरीसहित टेक्सासका नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको थियो । वृत्तचित्र हेरेपछि अधिकांश दर्शकहरुले निकै उत्कृष्ट बनाएको भन्दै निर्देशक पाण्डे र उनको टिमको प्रशंसा गरे । ५५ मिनेटको वृत्तचित्र हेरिरहँदा अधिकांश दर्शक भावुक बनेका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरीले वृत्तचित्र अत्यन्तै नमुनायोग्य रहेको भन्दै तारिफ गरे । भूकम्पको आफू पनि साक्षी बनेको भन्दै उनले वृत्तचित्र हेरेपछि ७ महिनाअघिको घाउलाई फेरि बल्झाइदिए । ‘म आफै भक्कानिएँ, निकै उत्कृष्ट रहेछ । डकुमेन्ट्री निर्माण टिमको पवित्र भावनाप्रति मेरो पनि समर्थन छ ।’– उनले भने ।
नेपाली समाज टेक्ससका महासचिव विजराज भट्टराईले टेक्ससका नेपाली समुदायलाई भाग्यले बाँचेकाहरु देखाउन पाउँदा खुसी लागेको बताए । आफूले अपेक्षा गरेभन्दा वृत्तचित्र निकै ऐतिहासिक रहेको भट्टराईको भनाइ थियो ।
वृत्तचित्रका निर्देशक गणेश पाण्डेले अमेरिकाका अन्य शहरमा पनि च्यारिटी शोको तयारी रहेको जानकारी दिए ।
वृत्तचित्रमा धरहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका सात जना नेपालीको कथा छ। वृत्तचित्र हेर्दा सबैको आँखा रसाउँछ। डकुमेन्ट्रीमा काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हीरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । यसैगरी, पाँचतले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा वृत्तचित्रमा समेटिएको छ ।
आफ्नै घर ढलेर आमाबाबुको विचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारका मर्मलाई पनि वृत्तचित्रमा बेजोड रुपमा उतारिएको छ । यसैगरी, धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, काठमाडौँको नयाँबसपार्कबाट ११२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै साततले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल को मार्मिक कथा हेर्न निकै दह्रो मुटु बनाउनु पर्छ।
डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन तथा स्वाराङ्कन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ ।
Bhagyale-Bachekaharu-Miracle-Survivals-in-Nepal-Earthquake Texas-Bhagyale bachekaharu (3) Texas-Bhagyale bachekaharu (4) Texas-Bhagyale bachekaharu (5) Texas-Bhagyale bachekaharu (6)