३० आश्विन २०८३, शुक्रबार

नेपालबाट बिदा हुँदै दासानायके, नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pubudu-dasanayake

काठमाडौँ, ११ मङ्सिर । नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पुर्याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै भोलि शनिबार नेपालबाट बिदा हुँदै हुनुहुन्छ ।

नेपालमा करिब चार वर्ष प्रशिक्षकका रुपमा बिताउनुभएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लाग्नुभएको हो । सन् २०११ सेप्टेम्बरमा नेपाल आउनुभएका दासानायकेकै नेतृत्वमा नेपालले डिभिजन चारबाट उक्लेर डिभिजन एकसम्मको यात्रा तय गर्न सफल भएको थियो ।

त्यस्तै, उहाँकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा भएको ट्वेन्टी-ट्वेन्टी विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उहाँ चुक्नुभएको थियो ।

प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गर्नुभएको छ । साथै उहाँले नेपाललाई एक दिवसीय वरियता दिलाउन नसकेकामा दुःख पनि व्यक्त गर्नुभएको छ । त्यतिबेला कप्तान पारसलगायतका केही महत्वपूर्ण खेलाडीहरु ‘फिट’ नभएका कारण पनि प्रतियोगितामा आफ्नो सोचाइअनुरुपको खेल प्रदर्शन गर्न नसकेको प्रशिक्षक दासानायकेको भनाइ छ । न्युजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो ।

दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उहाँले केही समयअघि राजीनामा दिनुभएको थियो । रासस