१२ कार्तिक २०८३, बिहिबार

‘हेल्थ डेक्स’मा औषधिसँगै इन्धनको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

medicine

काठमाडौँ, ११ मङ्सिर । औषधि र औषधिजन्य सामग्रीको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले ‘हेल्थ डेक्स’ मार्फत सञ्चालनमा ल्याएको पैसा नलाग्ने टोल फ्री नम्बरमा औषधिसँगै इन्धन व्यवस्था मिलाइदिन फोन कल आउन थालेका छन् ।

औषधि र औषधिजन्य सामग्रीको अभाव सुन्न मन्त्रालयले स्थापना गरेको हेल्थ डेक्समा औषधिको अभावभन्दा पनि झन्डै तीन दर्जन स्वास्थ्य संस्थाबाट इन्धन नपाएका गुनासा आएका छन् ।

स्वास्थ्य संस्थाहरुले दैनिक सेवा पु¥याउन इन्धन अभावले गाह्रो परेको भन्दै हेल्थ डेक्समा इन्धन माग गरेका छन् ।

बिरामी, सर्वसाधारण र सरोकारवाला स्वास्थ्य संस्थाका लागि मन्त्रालयले मङ्सिर ६ गतेदेखि ल्याएको हेल्थ डेक्समा दिनमा ४४ फोन कल मात्र आएको हेल्थ डेक्सका वरिष्ठ अधिकृत मातृका दाहालले जानकारी दिनुभयो ।

टोल फ्री नं १६६००१३३४४४ मा दीर्घ रोगीहरुबाट औषधिको माग बढी आउने गरेका छन् ।

धेरैजसो फोन काठमाडौँबाट आएको र पोखरा, तनहुँलगायत तराईका जिल्लाबाट पनि औषधि अभाव भएको भन्दै उपलब्ध हुने स्थान जानकारी पाउन फोन आउने गरेको उहाँले जानकारी दिनुभयो ।

खासगरी नाकाबन्दीभन्दा अघि नै अभाव रहेको मिर्गौला रोगीले प्रयोग गर्ने ‘फोस्वेट’ नामको औषधिको माग बढी रहेको छ । सो औषधिको पहिलेदेखि नै बजारमा अभाव हुँदै आएको छ ।

फोन आएका सबैलाई पायक पर्ने औषधालयको नाम बताई समस्या समाधान गर्ने गरेको र नपाएइ मन्त्रालयस्तरबाटै उपलब्धसमेत गराउने व्यवस्था रहेको जनस्वास्थ्य प्रशासक प्रमुख तथा हेल्थ डेक्सका संयोजक डा गुणराज लोहनीले जानकारी दिनुभयो ।

औषधिको मौज्दात र यसको वितरण प्रणालीमा सहजता ल्याउन मन्त्रालयले डा लोहनीको संयोजकत्वमा चार सदस्यीय हेल्थ डेक्स गठन गरेको थियो । बजार हल्ला चलेजस्तो औषधि अभाव नभएकाले पनि फोन कम आएको दाबी उहाँले गर्नुभयो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले टोल फ्री नम्बरमा सोचेअनुरुप फोन नआएको बताउनुभयो । उहाँले बजारमा हल्ला चलेजति औषधिको अभाव नरहेको र इन्धन अभाव चर्को भएकाले पनि इन्धनको माग बढी आएको हुनसक्ने बताउनुभयो ।

खासगरी चितवन मेडिकल कलेज, बयोधा अस्पताल जस्ता केही औषधिसँगसँगै इन्धन उपलब्ध गराइदिन अनुरोध गरेका छन् । रासस