पाल्पा, ११ मङ्सिर । यस जिल्लाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण तानसेनस्थित जिल्ला अस्पतालका साथै ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव देखिएको छ । सरकारले घोषणा गरेको ७० प्रकारका निःशुल्क औषधिमध्ये अहिले १५ प्रकारका औषधिमात्र अस्पतालमा रहेको अस्पतालका डा झवीन्द्र ढकालले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल पाल्पाका अनुसार मधुमेह, उच्च रक्तचापका औषधि र शल्यक्रियाका लागि चाहिने सामग्रीको अभाव रहेको छ । ढकालका अनुसार केन्द्रले ७० प्रकार निःशुल्क औषधि अझै जिल्ला पठाइदिएको छैन ।
औषधि वितरण गर्दै आएको पाल्पाको तानसेनस्थित साझा औषधि बिक्री केन्द्रमा समेत अहिले औषधिको अभाव देखिएको छ । दसैँपछि औषधि नआएका कारण अत्यावश्यक औषधिको मौज्दात सकिएको केन्द्रका क्षेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव दर्लामीले भने जिल्लामा रहेको औषधिले अझै एक महिना धान्ने दाबी गर्नुभएको छ । रासस














प्रतिक्रिया