३० आश्विन २०८३, शुक्रबार

नाकाबन्दी फिर्ता गर्न भारतीय राजदूतलाई चलचित्रकर्मीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fimly-personकाठमाडौँ । चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान नेपालले भारतले लगाएको अघोषित नाकाबन्दी फिर्ता गर्न माग गर्दै भारतीय राजदूत रणजित रायलाई आज ज्ञापनपत्र बुझाएको छ ।

युगौँदेखि नेपाल र भारत समान सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्ध भएका मुलुक भएकाले दुई देशबीचको एकै परिवारको जस्तो सम्बन्ध नबिगार्न आग्रह गर्दै अभियानले भनेको छ, “नेपाल सधँै भारतको भलो चाहने अभिन्न मित्र हो , नेपाल र नेपाली कहिल्यै भारतको विरुद्धमा छैनन् ।”

नाकाबन्दीका कारण देशका अधिकांश क्षेत्रका स्वास्थ्य, शिक्षालगायत अत्यावश्यक सेवासँगै चलचित्र क्षेत्र पनि प्रभावित भएकाले नेपाललाई मानवताको दृष्टिले हेर्न आग्रह गर्दै भनिएको छ, “दुई देशको राजनीतिक कुरा आफ्नो ठाउँमा होला तर मानवताको दृष्टिले हेर्दा नाकाबन्दी अन्यायपूर्ण छ ।”

भूकम्पले देश भर्खर तङ्ग्रिने अवस्थामा रहेकाले नाकाबन्दी झेल्न नसक्नेतर्फ सचेत गराएको अभियानले त्यसबेला आफूले गरेको सहयोग सम्झन भारत सरकारलाई आग्रह गरेको छ । संयोजक हरिहर शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी चलचित्रकर्मीसँगै नेपाली जनता विनम्रतापूर्वक आग्रह गर्छौं, सबै सीमा नाकाका अवरोध हटाइयोस् र समस्या नामेट पारियोस् ।”

अभियानले मङ्गलबार यहाँ नाकाबन्दीविरुद्ध चलचित्रकर्मीसँगै सञ्चारकर्मी, राजनीतिक कार्यकर्तालगायत विभिन्न पेसा र व्यवसायका व्यक्तिको ऐक्यबद्धताका साथ दबाब पदयात्रा गर्न लागेको अभियानका सदस्य सचिव केपी पाठकले जानकारी दिनुभयो । रासस