
काठमाडौं, ६ मंसिर । वर्तमान संकटको अवस्थामा मुलुकलाई निकास दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार रन्किएर बाहिर निस्केका छन् । तराई मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको आन्दोलन र हिंसात्मक प्रदर्शन एवम् भारतले लगाएको नाकाबन्दीका विषयमा छलफल बालुवाटारमा बैठक बसेको हो ।
बैठकबाट निस्किएका गच्छदार निकै आक्रोशित देखिएका थिए । आक्रोशमै उनी आफ्नो गाडी समेत नचिनेर एमाओवादी अध्यक्ष प्रचण्डको गाडीमा चढे । पछि उनका सुरक्षा गार्ड प्रचण्ड गाडी भएको आफ्नो पार्किङ रहेको बताएपछि उनी आफ्नो गाडीमा चढे । गाडी स्टार्ट भइसकेको थियो । तर, फेरि गच्छार ओर्लिएर बैठकभित्रै छिरे ।
बैठक स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले थारुका मागलाई च्याप्न खोजेपछि गच्छदार रिसाउँदै बाहिर निस्केको बुझिएको छ । आन्दोलनका कारण मधेसमा धमाधम मान्छे मरिरहेका बेला नेताहरु भने ह्याभी नास्ता खाएर बैठकमा बसिरहेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री ओलीका, कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवानसम्मका नेताहरूको सहभागिता छ ।
नाकाबन्दीले आक्रान्त बनेको मुलुकलाई शनिबार मध्यरातिदेखि सप्तरी र आसपासका जिल्लामा आन्दोलन झन् चकिएपछि सरकार गम्भीर बनेको छ । सरकारका साथै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि मधेसमा चर्किएको आन्दोलनप्रति चिन्ता जनाइ सकेका छन् ।


















प्रतिक्रिया