३० आश्विन २०८३, शुक्रबार

नाकाबन्दीको विरोध गर्दै भारतका चलचित्र निर्माताले भने- हामी नेपालको साथमा छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bollywoodकाठमाडौँ । भारतीय चलचित्र निर्माताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवनमा चरम मानवीय सङ्कट उत्पन्न गरेकाले यस्तो बेला नेपाली जनतालाई साथ दिने बताएका छन् ।

यहाँ जारी फिल्म साउथ एसियामा भाग लिन यसैहप्ता भारतबाट आएका उनीहरुले आज विज्ञप्ति निकाल्दै भारतीय सरकारकै कारणले करिब डेढ महिनादेखि नाकाबन्दी जस्तो अनैतिक कार्य भइरहेकाले त्ससबाट पछि हट्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “नाकामा अवरोध गर्ने भारतीय सरकारको गैरजिम्मेवारपूर्ण कामको दुई महिना नाघिसकेको छ, यसले नेपालको अर्थतन्त्रलाई धरासायी पारेको छ ।”

साथै, केही महिनाअघि गएको भूकम्प र तराई आन्दोलन भइरहेका बेला भएको नाकाबन्दीले उद्योगधन्दा व्यापार व्यवसायमा नराम्रो असर परेको मात्र नभएर नेपालीको दैनिकी कष्टकर बन्दै गएको, अस्पतालमा औषधिका अभाव भएको तथा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर परेकोप्रति दुःख प्रकट गरेका उनीहरुले समाधानका लागि ऐक्यबद्धता जनाएका हुन् ।

चलचित्र निर्माताले नेपाल एक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले उसले बाह्य हस्तक्षेपबिना नै आफ्नो आन्तरिक मामिला आफैँ हल गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपालको अवस्थालाई गम्भीरतापूर्वक लिई यसबारे भारतीय नागरिकको हैसियतमा आफ्नो देशको सरकार र अन्तर्राष्ट्रिय समुदायलाई छिटो अन्त्य गर्न आग्रह गरेका छन् ।

साथै, नेपाल–भारतबीचको विगतको घनिष्ट सम्बन्ध कायम राख्न तत्काल नाकाबन्दी हटाउनुपर्ने र अझ सुमधुर सम्बन्ध बनाउन सबै लाग्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

विज्ञप्ति जारी गर्ने फिल्म निर्मातामा दीप्ति मुराली, हेमन्त गाबा, इफ्फात फातिमा, नकुलसिंह साहनी, प्रतिक शेखर, सञ्जय काक, शुभ्रा दीक्षित, स्वेता घोषलगायत छन् । रासस