बामाको, ५ मङ्सिर । मालीको एक होटलमा बन्धक बनाइएका व्यक्ति मुक्तगर्ने प्रकरणमा २७ जनाको ज्यान गएको छ ।
मालीको राजधानी बामाकोमा रहेको ¥याडिसन ब्लु होटलमा पाहुना र होटल कर्मचारी गरी १४० जनालाई हतियारधारीहरुले शुक्रबार बन्धक बनाएका थिए । ती बन्धकलाई मुक्त गर्ने प्रक्रियामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । त्यस्तै अरु केही घाइते भएका छन् ।
मालीको सैनिकको विशेष कमाण्डोका साथै फ्रान्सेली र अमेरिकी सेनाको कमाण्डोले पनि सो बन्धक प्रकरणमा काम गरेका थिए । ती सुरक्षाकर्मीहरुको निरन्तर नौ घन्टाको प्रयासपछि बन्धकलाई मुक्त गर्न सकिएको हो ।
शुक्रबार बिहानै बन्दुकधारी समूहले एकाएक होटलमा प्रवेश गरी पाहुनाहरू बसेका कोठाबाट होटल बाहिर जाने मार्गलाई बन्द गरी अन्धाधुन्ध गोली चलाएका एक प्रत्यक्षदर्शीले बताए ।
सुरक्षाकर्मीले करिब १० जनाको समूहमा बन्दुकधारीले होटलमा धावा बोलेका जानकारी दिएका थिए । उनीहरुले कुनै शर्त नराखी लामो समयसम्म ती पाहुनालाई बन्धक बनाएका हुन् ।
सुरक्षाकर्मीले करिब नौ घन्टाको निरन्तर प्रयासपछि सम्पूर्ण होटलालाई नियन्त्रणमा लिई अनुसन्धानपछि होटलभित्र फसेका मानिसलाई सुरक्षित बाहिर ल्याएका हुन् ।
सो आतङ्ककारी कार्यको जिम्मेवारी अल मुराबीटाउन नामक एक आतङ्ककारी समूहले लिएको छ । सो समूह अल कायदाआवद्ध संस्था हो ।
मालीको सुरक्षा निकायले दिएको जानकारीअनुसार १४० जनालाई बन्धक बनाएको सो समूहबाट सबैलाई छुटाउन नसकिएको र त्यस क्रममा २७ जनाको ज्यान गएको बताएको छ ।
साथै सो क्रममा तीनजना आतङ्ककारीको पनि ज्यान गएको छ । उनीहरुलाई कारबाहीमा मारिएको हो वा उनीहरुले आफैमाथि बम विस्फोट गराएका हुन् भन्ने बारेमा भने प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।
मालीको सरकारले दश दिनको सङ्कटकालको घोषणा गरेको छ । देशैभरिका लागि दश दिने सो सङ्कटकालको घोषणा गरेको समाचारमा जनाइएको छ ।
त्यसैगरी सरकारले शनिबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको जनाइएको छ । मारिने व्यक्तिको पहिचान खुलिसकेको मालीको गृहमन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रपति ओबामाद्वारा निन्दा
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार अमेरिकी राष्ट्रपति बाराक ओबामाले सो आक्रमणको निन्दा गर्नुभएको छ ।
उहाँले यस्ता आतङ्कवादी क्रियाकलापबाट संसारमा कोही पनि बिचलित नभई आतङ्कवादका विरुद्ध एक भएर लड्न पनि आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
सो हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि निन्दा गर्नुभएको छ । उहाँले सो घटना मालीमा शान्ति खल्बलाउने र नागरिकलाई त्रासमा बाँच्न बाध्य बनाउने एक दुस्प्रयास हो भन्नुभएको छ । रासस/एएफपी
















प्रतिक्रिया