याङगुन (म्यानमार) ४ मङ्सिर । म्यानमारको निर्वाचन आयोगले यहाँ भएको आमनिर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा शुक्रबार सार्वजनिक गरेको छ ।
म्यानमार्स युनियन इलेक्सन कमिसनका अनुसार म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीले नेतृत्व गरेको प्रतिपक्षी पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले संसदका तीन तहको नतिजाको जम्मा ८८६ संसद सदस्य अर्थात ७७.०४ प्रतिशत मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभामा एनएलडीले २२५ सिट, राष्ट्रिय सभामा १३५ सिट तथा क्षेत्रीय वा राज्यसभामा ४९६ सिट प्राप्त गरेको जनाएको छ ।
यसैगरी सत्ताधारी युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले ११८ सिट प्राप्त गरेको छ । यो संसदको १० प्रतिशत सदस्य सङ्ख्या हो ।
यूएसडीपीले प्राप्त गरेको ११८ मध्ये ३० सदस्य प्रतिनिधिसभा, १२ सदस्य राष्ट्रिय सभा र ७६ सदस्य राज्यसभाका लागि निर्वाचित भएका छन् ।
बाँकी संसद सदस्य मुख्यतया केही जनजाति दलले पाएका छन् । पाँच जना स्वतन्त्र सदस्यले संसदमा प्रतिनिधित्व गर्ने भएको पनि शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा जनाइएको छ ।
अराकन नेसनल पार्टी संसदमा तेस्रो ठूलो दल भएको छ ।
म्यानमारमा विभिन्न तहमा गरी जम्मा १ हजार १५० संसद प्रतिनिधिका लागि भएको निर्वाचनमा नेत्री सुकीको पार्टीले दुईतिहाईभन्दा बढी स्थानमा विजय हासिल गरेको छ ।
यससँगैं, सुकी नेतृत्वको दलले म्यानमारको सरकारमा नेतृत्व गर्ने छ ।
तर, नयाँ सरकारले वर्तमान सरकारको सन् २०१६ मार्चमा कार्यकाल समाप्त भएपछि देशलाई नेतृत्व गर्ने छ । रासस/सिन्ह्वा















प्रतिक्रिया