काठमाडौं, ३ मंसिर । नेपाली सेनाले सिरियाको गोलानहाइटमा खटिएका फोर्स कमान्डर रथी पूर्णचन्द्र थापा स्वदेशकै आवश्यकताका आधारमा फिर्ता हुन लागेको स्पष्ट पारेको छ ।
सेनाले नै आवश्यक ठानेपछि एकवर्षे कार्यकाल सकेर उनी फर्किन लागेको जनाइएको छ । थापा फिर्ता हुने समाचार बुधबार नयाँ पत्रिकामा प्रकाशित भएपछि सेनाले बुधबारै नयाँ पत्रिका कार्यालयमा ध्यानाकर्षणपत्र पठाएर प्रस्टीकरण दिएको हो ।
उनी ५ माघमा सिरियास्थित ‘युृनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (अनडोफ)का कमान्डर तथा मिसन प्रमुख नियुक्त भएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
उनले २५ माघदेखि कार्यभार सम्हालेका थिए । ‘मिसन इलाकामा कार्यरत फोर्स कमान्डरको कार्यकाल थप्ने सम्बन्धमा संयुक्त राष्ट्रसंघले सम्बन्धित राष्ट्र र स्वयं व्यक्तिसँग पनि परामर्श लिई कार्यकाल थप गर्ने वा नगर्ने भन्ने प्रावधान रहेको’ सेनाको जिकिर छ ।
‘समाचारमा लेखिएजस्तो व्यक्तिगत क्षमताको कारण नभई हालको परिस्थिति र संगठनको आवश्यकताको कारण रथी थापाको आवश्यकता स्वदेशमै रहेको हुँदा संयुक्त राष्ट्रसंघले ग्लोबल भ्याकेन्सी माग गरेको हो’ सेनाले स्पष्टीकरण दिएको छ ।















प्रतिक्रिया