६ कार्तिक २०८३, शुक्रबार

पुलिसले ग्यास लान्छ, उपभोक्ता रित्तै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Police Gassकाठमाडौं, ३ मंसिर । गोंगबुस्थित देवकोटा सप्लायर्स (ग्यास डिलर)मा बुधबार बिहान करिब १० बजे ग्यास लिने उपभोक्ताको भीड थियो ।

पहिल्यै नाम टिपाएका उपभोक्ताले ग्यास पाएकै थिएनन्, ३ जना प्रहरीले ४ वटा खाली सिलिन्डर ल्याएर पसलमा छाडिदिए । ती प्रहरीले पसलेलाई आदेश दिए, ‘हामीले ४ वटा खाली सिलिन्डर ल्याएका छौँ । यो भाइलाई मिलाएर ग्यास पठाइदिनू ।’

लगत्तै अर्का एक प्रहरी (पहिलेका वरिष्ठ देखिने) आएर ४ सिलिन्डर ग्यास दिन सञ्चालकलाई राजी गराए । यो दृश्य देखेपछि बिहानदेखि ग्यास पाउने आशामा पसलमा बसेका उपभोक्ता अवाक भए ।

प्रहरी गएपछि भीडबाट एकजना उपभोक्ताले भने, ‘प्रहरीको बर्दीमा आयो भने त हामीले पनि सजिलै ग्यास पाउने रहेछौँ ।’ केही छिनमै फेरि एकजना प्रहरी आए । उनले कसैलाई फोन गरे ।

केही क्षणमै एक पुरुष र एक महिला आइपुगे । पुरुषचाहिँ गीता ब्रान्डको सिलिन्डर लिएर आएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उक्त सिलिन्डर आफ्नो पसलमा नभएकाले साटफेर गर्न गाह्रो भएको कर्मचारीले बताए । तर, ती प्रहरीले ‘आफ्नो मान्छे हो, मिलाइदिनुपर्‍यो’ भने ।

आफूले सिफारिस गरेका महिला–पुरुषले ग्यास पाएपछि ती प्रहरी मोटरसाइकलमा हुँइकिए । पसलमा ग्यास आउने खबर पाएर जम्मा भएका सर्वसाधारणलाई भने नागरिकताको फोटोकपीसहित खाली सिलिन्डर छाडेर जान पसलेले अनुरोध गरे ।

ग्यास नपाएपछि पसलेले भनेजस्तो गर्नुको विकल्प उपभोक्तासँग थिएन । उनीहरूले हप्ता दिनदेखि महिना दिनसम्म कुनुपर्ने भनेर पसलका कर्मचारी सम्झाउँदै थिए ।

‘अहिले आएको ग्यास पहिला नै नाम टिपाएकालाई वितरण हुँदैछ,’ ती कर्मचारीले भने, ‘त्यसैले बुधबार नाम टिपाएकाको पालो त कम्तिमा एक सातापछि मात्रै आउँछ, फोन गर्नुहोला ।’ यो त एउटा उदाहरण मात्रै हो ।

राजधानीका अधिकांश ग्यास डिलरमा यस्तै भइरहेको विक्रेता बताउँछन् । भारतको नाकाबन्दीपछि थोरै मात्रामा आएको ग्यास उद्योग र डिलरमार्फत बिक्री भइरहेको छ । थोरै ग्यास लिन धेरै उपभोक्ताको भीड हुने गरेका कारण व्यावसायीले प्रहरीसँग सुरक्षा माग्ने गरेका छन् ।

तर, सुरक्षाका लागि आउने कतिपय प्रहरीले आफूलाई चाहिनेभन्दा बढी ग्यास मागेर हैरान पार्न थालेको डिलर सञ्चालक र उद्योगीको गुनासो छ । प्रहरीलाई अनावश्यक धेरै ग्यास बाँड्दा उपभोक्ताको भाग खोसिने गरेको विक्रेताको भनाइ छ ।

प्रहरीले एकपटक होइन, पटकपटक आएर ग्यास माग्ने गरेको एक ग्यास विक्रेताले बताए । दसैँअगाडि गोगंबु क्षेत्रकै एक विक्रेताले नेपालगन्जबाट ल्याएको करिब ५ सय ग्यास सिलिन्डर बिक्री गर्न प्रहरी परिचालन गर्दा प्रहरीले ४० सिलिन्डर ग्यास कब्जा गरेको गुनासो गरे ।

ती बिक्रेताले भने, ‘एकातिर आफूसँग भएको ग्यासभन्दा बढी उपभोक्ताको लाइन थियो, अर्कातिर सुरक्षा दिन आएका प्रहरीले नै धेरै ग्यास होल्ड गरेर बसेपछि ठूलो तनाव बेहोर्नुपर्‍यो ।’

प्रहरीले डिलरबाट ग्यास लिएर दुःख दिने गरेको गुनासो आफूले पनि सुनेको महानगरीय प्रहरी प्रभाग नयाा बसपार्कका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘कार्यालयको प्रयोजनका लागि प्रहरीको लेटरप्याडमा चिठी लिएर आउनेलाई मात्रै ग्यास दिन डिलरहरूलाई भनेका छौं ।’