
काठमाडौं, २ मंसिर । सरकार र मधेसी मोर्चाबीच आज हुने भनिएको ‘निर्णायक वार्ता’को समय अपराह्न ४ बजेलाई तय भएको छ ।
राजनीतिक वार्ता टोलीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा मोर्चासँग अपराह्न ४ बजे सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यकक्षमा वार्ता हुने प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काले जानकारी दिनुभयो ।
वार्तामा नाकाबन्दी हटाउने र मोर्चाको सीमाकंनको मागमा अधिकतम लचकताका साथ प्रस्तुत हुने सरकारी टोलीको तयारी छ । जसमा प्रचण्डले तीन विकल्प प्रस्तुत गर्नुहुनेछ । सीमाकंनमा प्रचण्डले केही जिल्ला टुक्राउने प्रस्ताव पनि विकल्पका रुपमा अघि सार्नुभएको छ ।
यता कांग्रेसले भने यथास्थितीमा वार्तामा सहभागी नहुने जनाएको छ । आज बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्त दिलेन्द्र बडूले सरकारको ठोस प्रस्तावबारे जानकारी नभएसम्म कांग्रेसले वार्ता बहिष्कार गर्ने बताउनुभयो ।
स्रोतका अनुसार आजको वार्ता सत्ता पक्ष एमाले एमाओवादीले भन्ने, मधेसी मोर्चाले सुन्ने र कांग्रेसले बहिष्कार गर्नेगरी हुनेछ । मधेसी मोर्चाले पनि आजको वार्तामा सरकारको प्रस्ताव सुन्ने जनाएको छ ।















प्रतिक्रिया