३० आश्विन २०८३, शुक्रबार

आइसिसी विश्व क्रिकेट लिग: भोलि नेपालले पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-Cricket-On-Omanकाठमाडौँ, १ मङ्सिर । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको पुछारमा रहेको नेपालले भोलि बुधबार पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्ने भएको छ ।

संयुक्त अरब इमिरेट्स ९युएइ०को अबुधावीस्थित शेख जायद स्टेडियममा नेपालले भोलि प्रतियोगितामा पहिलो जित दर्ता गर्ने उद्देश्यका साथ पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । विभिन्न आठ राष्ट्र सहभागी उक्त प्रतियोगितामा तीन खेल खेलेको नेपाल तीनै खेलमा हार व्यहोरेको छ ।

यसअघि स्कटल्यान्डमा भएको उक्त प्रतियोगिताको पहिलो चरणमा दुई खेल खेलेको नेपालले दुवै खेलमा हार भोगेको थियो । त्यस्तै हिजो सोमबार भएको पपुवा न्युगिनीविरुद्वको पहिलो खेलमा पनि नेपाल दुई विकेटले पराजित हुन पुग्यो ।

स्कटल्यान्डसँगको दुई खेलअन्तर्गत पहिलो खेलमा तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा नौ विकेटले हार व्यहोरेको थियो ।

त्यस्तै पपुवा न्युगिनी भने दुई अङ्कका साथ लिगको सातौँ स्थानमा छ । हिजो सोमबार भएको खेलमा पपुवा न्युगिनीले नेपाललाई पराजित गरेपछि दुई अङ्क जोडेको हो । त्यसअघि नेदरल्यान्ड्समा भएको पहिलो चरणको दुई खेलमा पपुवा न्युगिनीले दुवै खेलमा हार भोगेको थियो । पपुवा न्युगिनी नेदरल्यान्ड्ससँग भएको पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ८५ रनले हार भोगेको थियो ।
।
त्यसैगरी चार खेल खेलेको नेदरल्यान्ड्स अङ्क तालिकामा ६ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ भने स्कटल्यान्ड्स दोस्रो तथा केन्या तेस्रो स्थानमा छ । चार खेल पूरा खेलेका दुवै टोलीले ६ अङ्कका साथ रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका हुन् ।

हङ्कङ चार अङ्कका साथ चौथो, दुई अङ्क जोडेको युएइ पाँचौँ र समान दुई अङ्क नै बटुलेको नामिबिया रनरेटका आधारमा छैटौँ स्थानमा छ । नामिबियाले चार खेल खेलेको छ भने बाँकी टोलीले तीन खेल खेलेका छन् । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित सोमपाल कामी, सरद भेषवाकर, शक्ति गौचन, महेश क्षेत्री, करण केसी, पृथु बास्कोटा, इर्साद अहमद, विक्रम सोब, नरेश बुढाऐर, महबुब आलम, सुवास खकुरेल, अनिल मण्डल र वसन्त रेग्मी छन् । अहमद र सोबले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गर्न लागेका हुन् ।

प्रतियोगितामा सबै सहभागी टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्नेछन् । उक्त आठ टोलीमध्ये शीर्ष छभित्र पर्ने टोलीले सन् २०१९ मा हुने आइसिसी विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछन् । रासस