काठमाडौं, १७ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था, भारतीय नाकाबन्दी र मधेसी मोर्चाका मागका विषयमा छलफल गर्न आज उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) बेलुका बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
बैठकमा मधेसी मोर्चाका माग र उनीहरूसँगको अनौपचारिक वार्ता तथा सम्वादका विषयमा पनि छलफल हुनेछ ।
मधेसी मोर्चाका शीर्ष नेताहरूसँग प्रधानमन्त्री ओलीका साथै एमाओवादी अध्यक्ष दाहाल, कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालालगायतका शीर्ष नेताले अनौपचारिक सम्वाद र वार्ता गर्दै आउनुभएको छ ।
उच्चस्तरीय समितिको आजको बैठकपछि सम्भवत भोलि शनिबार मधेसी मोर्चासहित कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको निकासका लागि संयुक्त वार्ताको तयारी गरेको बुझिएको छ ।















प्रतिक्रिया