३० आश्विन २०८३, शुक्रबार

१५ वर्ष नजरबन्दमा राख्ने सेना र सरकारलाई सुकीले लेखिन पत्र: मिलेर देशलाई अगाडि बढाउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suki-1याङ्गोन, २६ कात्तिक । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले राष्ट्रिय सहमति र मेलमिलापका लागि म्यानमारका राष्ट्रपति तथा सैनिक प्रमुखलाई आह्वान गर्नुभएको छ ।

उहाँले एक पत्रमार्फत त्यहाँको सैनिक प्रमुखसँग सो आग्रह गर्नुभएको हो । बुधबारसम्म निर्वाचनको सबै परिणाम घोषणा नभइसकेको अवस्थामा उहाँले राष्ट्रपति र त्यहाँका सभामुखलाई सो पत्र लेख्नुभएको हो ।

पत्रमा उहाँले राष्ट्रिय सहमति र मेलमिलापका बारेमा कुराकानी गर्न इच्छुक रहेको र आवश्यक र मिल्दो समयमा उहाँहरुले खबर गरी आएमा आफू यो वार्ताका लागि तयार भएको जानकारी पनि दिनुभएको छ ।

म्यानमारमा गएको आइतबार भएको आमनिर्वाचनमा सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीले करिब ९० प्रतिशत स्थानमा आफ्नो सफलता हात पारेको बताएको छ ।

तर पनि तीन दिनसम्म पनि किन पूर्ण परिणाम सार्वजनिक गरिएको छैन भन्ने बारेमा भने केही पनि बताइएको छैन । सुकीका कार्यकर्ता सो परिणाम सार्वजनिक नभएकोले निकै उत्सुक भएका र सन्तापमा परेका बताइएको छ ।

जनताको यो चासो र चिन्ताका बाबजुद सुकीले म्यानमारका राष्ट्रपति थाँ सेन, प्रधान सेनापति मिन उङ हालिन तथा संसदका सभामुख से मानलाई सो पत्राचार गर्नुभएको हो ।

उहाँले सो पत्रमा लेख्नुभएको छ– म तपाईहरुसँग राष्ट्रिय सहमतिका विषयमा आगामी हप्ता र तपाईहरुको समयअनुसार नै कुराकानी गर्नका लागि यो आमन्त्रण गर्दछु ।

निर्वाचनका परिणामहरु सार्वजनिक भइरहेका छन् । तर बुधबार नयाँ र ताजा परिणामका बारेमा केही पनि जानकारी गराइएको छैन ।
तर पनि अब धेरै मत गणना गर्न बाँकी नरहेका बताइएको छ । थोरै मतमात्र गणना गर्न बाँकी रहदासम्म उहाँको दलले स्पष्ट बहुमत हासिल गर्ने स्पष्ट देखिएको छ ।

सुकी सैनिक शासनको नजरबन्दमा १५ वर्ष बिताउनुभएको छ । उहाँ गएको सन् २०१२ पछि स्वतन्त्र भई निर्वाचनमा सहभागी हुनुभएको थियो । हाल उहाँ संसदमा प्रमुख विपक्षी दलको नेता हुनुहुन्छ । रासस/एएफपी