दाङ, २६ कात्तिक । सामान्य प्रशासनमन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई साथमा लिएर मात्रै मुलुकको विद्यमान समस्या गर्न सकिने बताउनुभएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघले आज (बिहीबार) गृह जिल्ला दाङमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री शर्माले देशमा विद्यमान समस्याको समाधान गर्न कांग्रेसलाई मनाएर संविधान संशोधनमार्फत निकास दिन सकिने बताउनु भएको हो । उहाँले संविधान संशोधनका लागि दुईतिहाइ मत कांग्रेस विना असंभव रहेको बताउनुभयो ।
वार्ता समितिकी सदस्यसमेत रहनुभएकी मन्त्री शर्माले मधेसी दलहरूका एजेण्डा संविधान संशोधनमार्फत प्रक्रियामा रहेको भन्दै सिमाङ्कनको विषयको सवालमा सबै दलहरू एक भएर मात्रै निकास दिन सकिने बताउनुभयो ।
मन्त्री शर्माले नेपाल हरेक क्षेत्रमा आत्मनिर्भर नभए कै कारण विषम परिस्थितिको सामाना गर्न जनताले थप कष्ट व्यहोर्नु परेको उल्लेख गर्नुभयो ।
उहाँले दाङ प्रादेशिक राजधानी बन्न सबै दृष्टिकोणले उपयुक्त र योग्य भएको बताउनुभयो । जिल्लाको विकास निर्माणको सवालमा सबै दलका नेताहरूको साझा एजेण्डा बन्नुपर्ने सुझाब दिनुभयो ।
तुलसीपुरमा रहेको विमानस्थल नियमित उडान र इन्धन डिपो स्थापना गर्न आफूले सक्दो पहल गर्ने मन्त्री शर्माले उल्लेख गर्नुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले मन्त्री शर्मालाई दाङको विकास निर्माणसम्वन्धी ६ बुँदे ज्ञापनपत्र बुझाउनु भएको वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भयो ।
वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरु रावतको स्वागतमन्तव्यबाट सुरू भएको कार्यक्रममा एमाओवादीका जिल्ला अध्यक्ष कुबेर ओली, उपाध्यक्ष निर्मल आचार्य, संघका उपाध्यक्ष सेवकराम भण्डारी, मानार्थ सदस्य पूर्णप्रसाद धिताललगायतले शुभकामना दिनु भएको थियो ।















प्रतिक्रिया