काठमाडौं, २६ कात्तिक । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपलबहादुर खड्काले सर्वसाधारणलाई आतंकित पार्ने गरी दिएको अभिव्यक्तिको प्रधानमन्त्री केपी ओली र आपूर्तिमन्त्री गणेशमान पुनले आलोचना गरेको खुलासा भएको छ ।
केही दिनअघि कार्यकारी निर्देशक खड्काले पत्रकार सम्मेलन गरी स्टक सक्किएकोले इन्धनका लागि लाइनमा नबस्न उपभोक्तालाई आग्रह गर्नुभएको थियो । खड्काले सरकारले असहयोग गरेका कारण इन्धनको बैकल्पीक व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
सो विषयमा आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै निगमका कार्यकारी निर्देशक खड्काले आफूले निगमसँग रहेको इन्धनको स्टक र व्यवस्थापनका विषयमा जानकारी गराएको दाबी गर्नुभयो ।
तपाईले जनतालाई इन्धन छैन भनेर हाहाकार (आतंक) मच्चाउने गरी अभिव्यक्ति दिन मिल्छ भन्ने जिज्ञासामा निर्देशक खड्काले भन्नुभयो, ‘मैले आयल निगमसँग रहेको इन्धनको स्टकलाई ध्यानमा राखेर वास्तविकता भनेको हुँ । यसलाई अन्यथा लिनु भएन ।’
तपाईले प्रधानमन्त्री र आपूर्तिमन्त्रीसँग सल्लाह नै नगरी जनतालाई आतंकति पार्ने गरी इन्धन छैन भन्न मिल्छ ? भन्ने प्रश्नमा निर्देशक खड्काले भन्नुभयो, ‘इन्धनका लागि सडकमा लाइन बसेको देखेर अहिले इन्धन वितरण गर्न सक्दैनौ भनेर मैले स्पष्ट भनेको हुँ । बैकल्पीक व्यवस्था भएमा बितरण गर्ने छौँ भनेको हुँ ।’
उहाँले पछिल्लो समय भारतीय नाकाबाट इन्धन आपूर्ति नआएको सम्बन्धमा जानकारी गराउनु निगमको दायित्व रहेको पनि उल्लेख गर्नुभयो ।
निगमका कार्यकारी निर्देशक खड्काले इन्धन वितरण र आपूर्ति व्यवस्थाका विषयमा दिएको अभिब्यक्तिपछि आक्रोशित प्रधानमन्त्री ओली र आपूर्तिमन्त्री पुनले चासो राख्नु भएको छ ।
प्रधानमन्त्री ओली र आपूर्तिमन्त्री पुनले निगमका कार्यकारी निर्देशक खड्कालाई इन्धन आपूर्ति र वितरणका विषयमा जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएको स्रोतको भनाइ छ ।
इन्धन वितरणमा निगमभित्रैबाट कालोबजारी र भ्रष्टार हुने गरेको जिज्ञासमा कार्यकारी निर्देशक खड्काले स्पष्ट केही बताउनुभएन । उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा निगम अधिकतम व्यवस्थापनमा लागेको छ ।’
कार्यकारी निर्देशक खड्काले सरकारी कालो सूचीमा रहेको भारतीय नागरिकको विराट पेट्रोलियम कम्पनीको बचाउ गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘विराट पेट्रोलियम कम्पनी कालो सूचीमा छैन । मैले उसको कागजपत्र हेरेको छु । कोशी आयल कम्पनी हो कालो सूचीमा परेको हो । त्यो कम्पनीसँग विराट आयलको कुनै संलग्नता छैन ।’
खड्काले अहिले पनि इन्धन आपूर्तिका लागि कालो सूचीको विराट पेट्रोलियमलाई अनुमति दिनुपर्ने मनाशय व्यक्त गर्नुभएको छ ।
इन्धन आपूर्तिमा अझै पनि बैकल्पीक व्यवस्था गर्न नसकिएको निगमका कार्यकारी निर्देशक खड्काले स्वीकार गर्नुभयो ।
‘हामीले छिट्टै इन्धन आपूर्तिका लागि बैकल्पीक व्यवस्था गर्दैछौँ’, उहाँले भन्नुभयो, ‘भारतसँगको आपूर्ति व्यवस्था सहज नहुँदासम्म इन्धनको संकट समाधान हुन सक्दैन ।’
उहाँले निजी क्षेत्रलाई पनि इन्धन ल्याउने अनुमति दिइएको बताउँदै भन्नुभयो, ‘चीन वा अन्य मुलुकबाट पनि इन्धन ल्याएर वितरण गर्न सकिन्छ । त्यसको मूल्य निगमले तोकिदिन्छ । केही महँगो पर्नेछ ।’ उहाँले चीनबाट आयात हुने इन्धन भारतबाट ल्याउनेभन्दा महँगो पर्ने दाबी गर्नुभयो ।
हवाइ इन्धनका लागि धेरै समस्या नरहेको बताउनुभएका कार्यकारी निर्देशक खड्काले सबै उठान सहज हुने दाबी गर्नुभयो । निजी विमान कम्पनीहरूले आफै इन्धन ल्याउने गरेकाले आन्तरिक उडानमा समस्या नहुने उहाँको भनाइ छ ।
खाना पकाउने ग्यास भने तत्काल आपूर्ति गर्न नसक्ने निर्देशक खड्काको भनाइ छ । तीन सय बढी ग्यास बोकेका बुलेट सीमामा रोकिएका कारण ग्यासको आपूर्ति गर्न सकिएको उहाँले बताउनुभयो ।
‘ग्यासका बुलेट सिमानामा रोकिएका छन्’, उहाँले भन्नुभयो, ‘अब ग्यासको साटो मट्टी तेल ल्याएर छिट्टै वितरण गर्ने छौँ ।’ तर मट्टी तेल पनि अहिले सम्म नल्याइएको उहाँले उल्लेख गर्नुभएको छ ।















प्रतिक्रिया