१२ कार्तिक २०८३, बिहिबार

वामपन्थी नेता एवम् पत्रकार शक्ति लम्सालको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakti-Lamsal

काठमाडौँ, २५ कात्तिक । पुराना वामपन्थी नेता एवम् पत्रकार शक्ति लम्सालको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा गएराति ७९ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको छ ।

कोटेश्वर पेरिसडाँडास्थित एनेकपा (माओवादी)को केन्द्रीय कार्यालयमा आज बिहान स्व. लम्सालको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

पार्थिव शरीरमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले संयुक्तरुपमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।

विसं २००९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका स्व. लम्सालले विसं २०२४ देखि ‘दैनिक निर्णय’ पत्रिकाबाट पत्रकारितामा प्रवेश गर्नुभएको थियो ।

लम्सालले प्रेस काउन्सिल–गोपालदास पत्रकारिता पुरस्कार—२०६५, कृष्णसेन ईच्छुक साहसिक पत्रकारिता पुरस्कार—२०६५, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट वरिष्ठ पत्रकारिता सम्मान—२०६७, कृष्णसेन ईच्छुक साहित्यिक पुरस्कार—२०६१ लगायतबाट सम्मानित भइसक्नुभएको छ ।

स्व. लम्सालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पार्टी कार्यालय पेरिसडाँडामा एमाओवादी र क्रान्तिकारी माओवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

लम्सालका श्रीमति, एक छोरा र एक छोरी छन् । आजै उहाँको आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।

यसैबीच, एमाओवादी अध्यक्ष दाहाल र क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले संयुक्त शोक वक्तव्य जारी गरी वामपन्थी आन्दोलनका एक अथक अग्रणी योद्धा एवम् वरिष्ठ पत्रकार तथा प्रगतिशील साहित्यका स्रष्टा गुमाएको बताउँदै शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

स्व. लम्साल माओवादीको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । रासस