काठमाडौ, २४ कात्तिक । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको मन्त्रिपरिषद्ले पास गरेको विषेश प्रस्तावको विषयमा औपचारिक रुपमा आफूलाई जानकारी प्राप्त नभएको भन्दै प्राप्त भए त्यसलाई गंभीरताका साथ अगाडि बढाउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने- ‘सरकारले विशेष प्रस्ताव पास गरेको कुरा मैले पनि पत्रपत्रिकाबाट थाहाँ पाए । सरकारको प्रस्ताव मैले औपचारिक रुपमा पाएको छैन । दिपकुमार उपाध्यायजीले पाएर दिल्लीमा अगाडि बढाएको भए मलाई जानकारी छैन । मलाई औपचारिक रुपमा सरकारले दिए त्यसलाई गंभीरताका साथ अगाडि बढाउँछु ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा राजदूत रेले एकदुई दिनमा नेपाल भारत नाका सहज हुने भनि आएको समाचारलाई हल्ला र अनुमान भन्दै वीरगञ्ज नाका सहज नभईकन नेपालमा आपूर्ति सहज नहुने स्पष्ट पारे ।
उनले भने- ‘नेपालमा धेरै हल्ला र अनुमान चल्छ । नेपालमा ७० प्रतिशत आपूर्ति वीरगञ्ज नाकाबाट हुन्छ । अरु बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन । अरु नाकाबाट रि रुट गरेर पठाउने प्रयास भईरहेको छ । नेपाललाई तेल दिने मेन डिपो रक्सौलमा भएकोले अरु नाका सहज भए पनि आपूर्ति सहज हुँदैन ।’
उनले सत्य भए पनि झुठो भए पनि नेपालमा समाधान गर्नु पर्ने केही मुद्दाहरु रहेकोले त्यसलाई बार्ता र संबादको बाटोबाट छिटो हल गर्नु पर्ने भन्दै अहिलेको समस्या लामो समयसम्म जान नहुने धारणा राखे ।
राजदूत रेले थपे– ‘नयाँ संविधानबाट नेपाली जनताले सबै अपेक्षा पुरा हुने धारणा बनाएका थिए । भारतको पनि त्यही अपेक्षा थियो । संविधान जारी भएपछि पुरै नेपालमा खुसीयाली होस भारतले सधै यही कुरा उठाउँदै आएको थियो । संविधान आउनु भन्दा पहिला देखिकै केही कठिनाईहरु आउने संकेत थियो । त्यो कुरालाई सुनिएन ।’
उनले नेपालमा अहिले देखिएको समस्या संबाद र छलफलबाट टुङग्याउनुको विकल्प नभएको भन्दै प्रजातन्त्रमा जनताको कुरा सुन्नुपर्ने सुझाव दिए । ‘भारतमा पनि क्षेत्रीय चाहनाहरु छन तर भारत एकताबद्ध छ । नेपाल र भारतको एउटै अवस्था छ, विविधतामा एकता । त्यही भएकोले मिलेर जानुस भनेको हो, राजदूत रेले भने–‘ नेपालमा अहिलेको अवस्थाको असर गंभिर छ । मधेस समस्याको असर पुरै नेपालमा छ । काठमाडौ जस्तै तराईमा पनि समस्या छ । जे कारणले आन्दोलन भएको हो त्यसलाई समाधान बार्ताबाट गर्नु पर्छ । सरकारले बार्ता टोली बनाएको छ । यो राम्रो कुरा हो ।’
राजदुत रेले बार्ता टोलीले काम गरिरहेकोले छिटो संविधान संसोधन भएर समस्याको समाधान हुने सम्भावना ब्यक्त गर्दै औषधी र पेट्रोलियम पदार्थको अभाव भयो भनेर सरकारले प्रस्ताव गरे त्यसमा के सहयोग गर्न सक्छौ भनि आफुहरुले विचार गर्ने बताए ।
उनले जनता आन्दोलनमा रहेकोले त्यसलाई संबोधन गर्नैपर्ने भन्दै त्यो नभएसम्म अस्थिरता कायम रहने र यो कसैको हितमा नहुने तर्क गरे । उनले नेपालमा पछिल्ला समयमा बढी रहेको भारत विरोधी भावनाले आफूहरुलाई दुःखी बनाएको भन्दै कुनै राजनीतिक कारणले नियोजित रुपमा भारत विरोधी भावना भड्काईएको आरोप लगाए ।
राजदुत रेले भने- ‘हामी नेपालको दुश्मन होईन मित्र हौ । हामी नेपालको अहित चाहँदैनौ । नेपालका नोक्सान भए भारतमा पनि असर पर्छ । नेपालमा पीडा भए भारत पनि खुसी हुनसक्दैन । लडाई गरेर दुबै देशको हित हुँदैन । मिलेर जानुपर्छ ।’
उनले थपे- ‘भूकम्पको बेला सहयोग गर्दा पनि ‘गो ब्याक ईण्डियन मिडिया’ भने हामीले केही भनेनौ र अहिले पनि ‘गो ब्याक ईण्डिया’ भनिदैछ । यस्तो भावना बढाएर नेपालको राष्ट्रिय स्वाधिनता बलियो हुँदैन । यो नेपालको हितमा छैन ।’ राजदूत रेले नेपाल भारत सम्बन्धलाई अब नयाँ शिराबाट सोच्नु पर्ने भन्दै यसको लागि दुबै देशको हित हुने खालको विकास गर्न बसेर कुराकानी गर्नुपर्ने आवश्यकता औल्याए ।















प्रतिक्रिया