दाङ, २३ कात्तिक । रापती समाज काठमाडौंले ‘अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन रापती समाजको अभियान’ भन्ने मूल नाराका साथ यस वर्ष दाङमा आयोजना गरेको चौथो रापती म्यूजिक अवार्ड कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ ।
समाजले आज (सोमबार) घोराहीमा पत्रकार सम्मेलन गरेर राप्तीको शान र पहिचानका लागि कलासंस्कृतिको प्रवद्र्धनका लागि यही मंसिर १ गते घोराहीमा आयोजना गरेको म्यूजिक अवार्ड सफल बनाउन आग्रह गरेको हो ।
अवार्ड कार्यक्रममा राप्तीका चर्चित कलाकार र केन्द्रीय कलाकारहरूको प्रस्तुति रहने समाजका अध्यक्ष शशि शर्मा मजगैँयाले जानकारी दिनुभयो । अवार्ड कार्यक्रममा पहिलादेखि दिँदै आइएको २४ विधाको पुरस्कार यस पटक पनि निरन्तर रहेको उहाँले बताउनुभएको छ ।
बरु यस पटकको अवार्ड कार्यक्रममा अरु ३ विधा थप गरिएको छ । योसँगै राप्तीका कलाकारले अब २७ विधामा अवार्ड पाउनेछन् ।
नियमित विधाबाहेक यस वर्ष एसएमएस च्वाईस अवार्ड, पब्लिक च्वाईस अवार्ड र जूरी च्वाईस अवार्ड थप गरिएको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय गीत, लोकदोहोरीतर्फ सर्वोत्कृष्ट शब्द, भाका, गायक, गायिका, नवगायक, नवगायिका, चलचित्रतर्फ सर्वोत्कृष्ट गीत रचनाकार, संगीतकार, गायक, गायिकामा अवार्ड प्रदान गरिनेछ ।
यसैगरी सुगम संगीततर्फ रचनाकार, संगीतकार, गायक, गायिका, एल्बम, नवगायक, नवगायिका रहेका छन् ।
सर्वोत्कृष्ट पप गीत, लोकगीत, संगीत संयोजन, ध्वनी मिश्रण, म्यूजिक भिडियो निर्देशन, परुष र महिला मोडललाई अवार्ड वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रत्यक एक विधामा ५ मनोनयन रहेको र तीमध्यबाट १ श्रष्टालाई अवार्ड प्रदान गरिने अध्यक्ष शर्माले बताउनुभयो ।
राप्ती सांस्कृतिक सम्मान र राप्ती पत्रकारिता सम्मान पनि यस पटक दिएनेछ । नारायण पाण्डे लोकदोहोरी प्रतिभा पुरस्कार, राप्ती सांस्कृतिक पुरस्कार, भीम–नन्द स्मृति पुरस्कार र लाल–समुन्द्र राष्ट्रिय बहुप्रतिभा पुरस्कार पनि प्रदान गरिने कार्यक्रम छ ।
मध्य तथा सुदूरपश्चिममा पहिलो पटक आयोजना हुन लागेको रापती म्यूजिक अवार्डलाई भव्यताका साथ सम्पन्न गराउन आफूले सक्दो सहयोग गर्ने पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदीप गौतमले बताउनुभएको छ ।
अवार्ड कार्यक्रम मंसिर १ गते घोराहीस्थित गणेश चलचत्रि मन्दिरमा हुनेछ । सो कार्यक्रममा रापतीकै कलाकारहरूले मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने छन् ।















प्रतिक्रिया