‘तिम्रो दिलको सेरोर फेरो, जिन्दगीको गन्तब्य हो मेरो ।
बाटो मोड्ने छैन, कसम । बाटो मोड्ने छैन
छोड्न परे संसारै छोडौँला
तिम्लाई छोड्ने छैन, कसम । तिम्लाई छोड्ने छैन सानु
तिमी मेरो भाग्यको लेखाको । तिमी नै हौ जीवनको रुप रेखा
बाटो मोड्ने छैन कसम, बाटो मोड्ने छैन
छोड्नै परे संसारै छोडुला, तिम्लाई छोड्ने छैन, सानु………….’
यी शब्द अविवाहित एक जना लोकदोहरी सर्जकका हुन् । आफैले लेखेको यी शब्दलाई लय र स्वर दिएर ती स्वरका धनीले फेरि अर्को लोकदोहरी ल्याएका छन् । ती अविवाहित तन्नेरी हुन् राजन ठकुरी ।
हुन त राजनको नाम, नै काफी । उनी नेपाली लोकदोहरीको क्षेत्रमा चलेका गायक तथा सर्जक हुन् । लोकदोहरीलाई राजनले अन्त्यनै नजिकबाट माया पनि गर्छन् । त्यही भएर उनले समय–समयमा लोकदोहरी तथा अधुनिक र राष्ट्रिय गीत दिइरहन्छन् ।
लोक तथा दोहरी भनेपछि भुतुक्कै हुने बागलुङे ठिटो राजनले बजारमा ल्याएको यो नयाँ गीतले दर्शक तथा स्रोताको मन जित्ने उनको दाबी छ । राजनले ‘बाटो मोड्ने छैन’ शीर्षक दिएर गीत रेकर्ड गराएका हुन् । ‘यो गीतबाट फेरि दर्शकले मलाई माया गर्नुहुनेछ’, राजनले ठोकुवाका साथ भने, ‘मैले मात्रै होइन गीत राम्रो छ भनेर अहिलेसम्म सुन्नेहरूले प्रतिक्रिया दिनुभएको छ ।’
राजनले ‘सिमसिम पानी रैछ्यौ बेइमानी………..’ बाट चर्चा पाएका हुन् । त्यसपछि राजनले एउटा चिठी लेख्न मन लाछ, आँशु बलेनी, तिम्रै झल्को तिम्रै तिर्सना, बादलभित्र जून छ, आकाश एउटै जुन ताराको, राम्रो फूल त फूल्नै नहुने, हातमा लाग्यो शुन्य, सरर पानी घट्टामा, चरी भए आउँथे उडेर, संसार घाती छ, तिम्रै कसम भोलगायत सयौँ गीतमा स्वर तथा शब्द दिए ।
गीतसंगीतको क्षेत्रमा दामभन्दा पनि नाम अलि धेरै कमाएका राजनले पेशा पनि गीत गाउने नै गर्छन् । साथीहरूसँग मिलेर दोहरी साँझ चलाउँदै आएका छन् ।
लोकदोहरी गायनकै पेशा अंगालेर बसेका राजनले गंगबुस्थित नयाँबसपार्क नजिकै दोहरी गीत साँझ खोलेका छन् । राजन त्यही दोहरी साँझमा प्रत्येक दिन बेलुका भेटिन्छन् ।
दोहरी साँझमा आउने अनेक थरिका ग्राहक स्रोताको सुझाव र अरु मित्रहरूको सल्लाह सुझावमा उनले ‘बोटो मोड्ने छैन कसम……’ रेडर्क गराएको पनि भन्न भुल्दैनन् ।
गीतमा केटीको स्वरमा जुना श्रीषले साथ दिएकी छिन् । मिठो स्वरकी धनी जुना र राजनको केमेष्ट्री खुब मिलेको छ । गीतमा दुबैको स्वरको लेबलका कारण पनि गीत सुन्नेका लागि अति आनन्द महशुस हुन्छ ।
लोक तथा दोहरी गीत मात्रै गाउँछ भन्ने आरोपलाई खण्डन गर्छन् आजकाल, राजन । उनले राष्ट्रिय गीतदेखि आधुनिकसम्मका गीत पनि गाउने गरेको बताउँछन् ।
जुनासँग गीत गाउँदा अत्यन्तै सजिलो महशुस गरेको प्रतिक्रिया दिएका राजनले भने, ‘जुनाजीले पनि गीतमा खुब मेहनत गर्नुभएको छ । यही मेहनतको कारण मेरो गीत राम्रो बनेको महशुस गरेको छु ।’
‘गीत मायाप्रेममा ओतप्रोत लोकदोहरी हो’, राजनले भने । गीत बजारमा बज्न थालेपछि राजनको फोरि प्रशंसा हुन थालेको छ ।
भरखरै मात्रै सामाजिक सञ्जाल यूट्यवमा गीतको प्रोमो राखेका राजनको खोजी सुरु भइसकेको छ । गीत सुन्ने भिजिटरहरू दिनप्रति दिन ह्वात्तै बढेका छन् ।
आदर्श डिजिटल प्रा.लिको प्रस्तुती ‘बाटो मोड्ने छैन…’ले लोकदोहरी मनपराउनेहरूका लागि कोसे ढुङ्गा हुने राजनको दाबी छ ।
प्रस्तुति : विमल योगी















प्रतिक्रिया