काठमाडौं, १९ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच इन्धन आपूर्तिमा सघाइरहेको चीनले पनि अब नेपालमा नाकाबन्दी गर्ने दाबी गरिएको छ ।
भारतको नाकाबन्दीमा सीमामा धर्ना बसेर सहयोग गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब चीनले पनि नेपालमा नाकाबन्दी गर्ने दाबी गरेको हो । यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चामा आबद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उत्तरी छिमेकी चीनले मधेस आन्दोलनलाई समर्थन जनाउँदै केही समयभित्रै नाकाबन्दी गर्ने दाबी गरे ।
महताले नाकाबन्दीलाई ‘बाध्यात्मक’ परिस्थितिसँग तुलना गर्दै मधेस आन्दोलनमा चीनले पनि ऐक्यबद्धता जनाइसकेको दाबी गरे । उनले भने- ‘संबिधानसभामा चुनावमा जान अन्तरराष्ट्रिय समुदायले दबाव दिएपछि २०६४ फागुन १६ मा हामीले सरकारसंग ८ बुँदे सम्झैता गरेर त्यतिबेलाको मधेस आन्दोलन रोक्यौं । माधव नेपाल र पुष्पकमल दहाललाई साक्षी राखेर गिरिजाप्रसादले सरकारको तर्फबाट गरेको सम्झैता यतिखेर सरकारले नमानेकोले अन्तराष्ट्रिय जगत यतिखेर हामीलाई साथ दिनुपर्छ ।’ कुटनीतिक निकायहरुका लागि यो नैतिक प्रश्न भएको उनले दाबी गरे ।
मधेस आन्दोलनमा सरकारले मानव अधिकारको गम्भीर उलंघन गरेको भन्दै उनले नेपाललाई गोली गट्ठा र इन्धन लगायत आपूर्ति रोक्नुपर्ने उनको धारणा थियो ।
यता चीनले भने आफू नेपालको सच्चा छिमेकी भन्दै आफै सडक बनाउने र व्यापारिक इन्धन आपूर्ति गरिदिने तयारी गरेको छ । महतोले दाबी गरेअनुसार चीनले नाकाबन्दी गर्न नसक्ने र उल्टै मधेस समस्या समाधान गर्न बाह्य हस्तक्षेप हुन नहुने बताउँदै आएको परराष्ट्र मन्त्रालयको भनाई छ ।
















प्रतिक्रिया