काठमाडौं, १४ कात्तिक । केही थारु नेताहरूको सत्तालोभ र धोकाधाडीको राजनीतिक गतिविधिले कमजोर बनेको थारु आन्दोलनलाई संगठित र व्यवस्थित बनाउन एउटा समूह सक्रिय भएको छ ।
हालै नवलपरासीमा राष्ट्रिय भेला गरेको समूहले अहिले विभिन्न जिल्लाहरूमा भेला, अन्तरक्रिया र गोष्ठीहरू गर्दै आएको छ ।
विजय गच्छदारको फोरम लोकतान्त्रिक, एमाले तथा एमाओवादीका नेताहरू सत्ताकेन्द्रित राजनीतिमा सक्रिय भएपछि आन्दोलन तुहिएको ठहर गरेको भेलाले आफन्दोललाई समेट्ने प्रयास थालेको हो ।
थारु नेता राजकुमार लेखीका अनुसार नवलपसारी भेलाले गरेका निर्णयहरू कार्यान्वयनका लागि आफूहरू सक्रिय रहेको बताउनुभयो ।
‘झापादेखि कञ्चनपुरसम्मका जिल्लामा थारु आन्दोलनकारीले नयाँ सिराबाट आन्दोलन सुरु थालेका छन्’, उहाँले भन्नुभयो, ‘अहिले विभिन्न जिल्लाहरूमा भेला गोष्ठी, अन्तरक्रिया र भेला भइरहेका छन् ।’
केही थारु नेताहरूका कारण विथोलिएको थारु आन्दोलनलाई फेरि संगठित गरी अधिकार र पहिचानको मुद्दालाई अगाडि बढाउने उदेश्य राखिएको नेता लेखीले बताउनुभयो ।
आन्दोलनको मैदानमा कहिल्यै नेतृत्व नगरेको फोरम लोकतान्त्रिकले थारु आन्दोलनको ठेकेदारी शैलीमा जिम्मेवारी लिँदै सरकारमा सहभागी भएपछि थारु आन्दोलन कमजोर भएको नेताहरूको भनाइ छ ।
आन्दोलन तुहाउन विभिन्न षड्यन्त्र गरेको फोरम लोकतान्त्रिक, एमाले र एमाओवादीका नेता तथा सांसदहरूलाई थारु आन्दोलनकारीले कालो सूचीमा राखेका छन् । ती दलका थारु सांसदहरूलाई बहिष्कारसमेत गरिएको नेताहरूले बताएका छन् ।
सत्ताको खेलामा लागेका थारु सांसदहरू अहिले थारु आन्दोलनकारीको माझमा जान सकेका छैनन् । थारु नेता लेखीले थारु सांसद र केही नेताहरूका कारण आन्दोलनकारी अत्यन्तै आक्रोशित रहेको बताउनुभयो ।
थारु आन्दोलनकारीको आक्रोशका कारण थारु सांसद र केही नेताहरू आन्दोलनमा सहभागी हुन नसकेको लेखीले उल्लेख गर्नुभयो ।















प्रतिक्रिया