११ कार्तिक २०८३, बुधबार

मधेसीका मात्रै होइन हाम्रा पनि माग पूरा गर : चुरे भावर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badri-Neupane-Jiकाठमाडौं, १२ कात्तिक । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले दैनिक उपभोग्य लगायतका मुलुकमा देखिएको समस्या समाधानका लागि सरकारसँग माग गरेको छ ।

चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेद्धारा आज जारी विज्ञप्तिअनुसार मधेसवादी दलहरुले विभिन्न माग राखेको सन्दर्भमा उनीहरुसँग वार्ता र सम्वाद गरी जायज माग सम्बोधन गर्न माग गर्नुभएको छ ।

उहाँले शान्तिपूर्ण आन्दोलनमार्फत माग गरिने कुनै पनि विषय वा मागलाई सम्बोधन गर्ने दायित्व सरकारको रहेको बताउनुभएको छ ।

अध्यक्ष न्यौपानेले विगतमा आफ्ना पार्टीसँग गरेको सम्झौतालाई कार्यान्वयन गर्न माग गर्नुभएको छ । ‘सरकारले हामीसँग विगतमा गरेका तीन बुँदे, पाँच बुँदे र नौँ बुँदे सम्झौता कार्यान्वनयमा चासो देखाएको छैन’, उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले प्रमुख रुपमा उठाएको र सम्झौतामा उल्लेख रहेको चुरे भावर प्रदेशलाई पनि कार्यान्वनयका लागि नेपाल सरकार र सत्तारुढ प्रमुख राजनीतिक दलहरुसँग जोडदार रुपमा माग गर्दछ ।’

उहाँले सबै दलका सम्झौतालाई कार्यान्वयन गर्ने हो भने सरकारले हामीसँग विगतमा गरेका सम्झौतालाई प्राथमिकताका साथ कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । ‘हाम्रो संयमता र मौनतालाई कमजोरी नठानियोस् अन्यथा चुरे भावरले कडा आन्दोलन गर्न बाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले झण्डै अढाई महिनादेखि गरिरहेको नाकाबन्दी र आन्दोलनले नेपालीहरुको जनजीवन दिनप्रति दिन कष्टकर बन्दै गइरहेको भन्दै चुरे भावरले चिन्ता जनाएको छ ।

‘यस्तो अवस्थामा देश अस्तव्यस्त भएकोले मधेसी मोर्चासँग सरकारले गम्भीरतापूर्वक आवश्यक पहलकमदी गरी सरकार र प्रमुख राजनीतिक दलहरुले तत्काल गम्भीरतापूर्वक सम्वाद गरेर उनीहरुका जायज र न्यायोचित मागहरु पूरा गर्ने प्रक्रिया अविलम्ब सुरु गरी समाधान गर्न जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।