इटहरी, ८ कात्तिक । सुनसरी जिल्लाको दुई अलग–अलग स्थानमा भएका सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शनिबार अपराह्न भएका ती सवारी दुर्घटनामा अर्काे एकजना घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार जिल्लाको धार्मिक तीर्थस्थल बराहक्षेत्रको चतराबाट धरानतिर आइरहेको को१ख ४१४४ नंको बसले धरान– १७ निवासी ४८ वर्षीय सुन्दर खड्कालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
मृतक खड्काको शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बसका चालक रोशनरजक श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।
यसैगरी जिल्लाको महेन्द्रनगर गाविस– ७ पर्ने सुनसरी–मोरङ सिँचाइ नहरमा अन्दाजी ५५ वर्षीय पहाडे समुदायका एक पुरुष मृत अवस्थामा फेला परेको पनि प्रहरीले जानकारी दिँदै उनको सनाखत हुन नसकेको बताएको छ ।
नहरमा डुबेर मृत अवस्थामा फेला परेका ती पुरुषको शव पनि परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
यता इटहरी उपमहानगरपालिका– १७ स्थित पूर्वपश्चिम राजमार्गमा को१३प ७४४० नंको मोटरसाइकलले को१प ५७१० नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा इटहरी उपमहानगरपालिका– १७ का ५० वर्षीय हेम श्रेष्ठ घाइते भएका छन् ।
उनको इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको बताइएको छ । रासस















प्रतिक्रिया