काठमाडौँ, ७ कात्तिक । सरकारको एक प्रमुख घटक एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ ।
सो पार्टीको आज बसेको स्थायी समिति बैठकले उपराष्ट्रपति पदमा उम्मेदवार उठाउने भए पनि व्यक्तिको सन्दर्भमा टुङ्गो लगाइसकेको छैन ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उम्मेदवार कसलाई बनाउने भन्ने टुङ्गो लागिनसकेको र राष्ट्रपतिको उम्मेदवारीको अवस्था हेरेर निर्णय हुने राससलाई जानकारी दिनुभयो ।
“राष्ट्रपति पदमा कुन पार्टीको कुन व्यक्ति, कुन वर्ग र लिङ्गको उम्मेदवारी पर्छ, त्यसपछि पार्टीले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गर्छ”– उहाँले भन्नुभयो ।
पार्टीका नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपति पदको उम्मेदवारका रुपमा उठाउने चर्चा एमाओवादी भित्र चलेपनि सोको टुङ्गो लागिसकेको छैन ।
पार्टीले जातीय सन्तुलनका हिसाबले उम्मेदवार उठाउने पनि बताइएको छ । रासस















प्रतिक्रिया