दाङ, ६ कात्तिक । सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि राप्ती अञ्चल अस्पताल तुलसीपुर, दाङमा सुरक्षित गर्भपतन गराउनेहरुको संख्यामा वृद्धि भएको छ ।
यस आर्थिक वर्षको तीन महिनामा ६५ जना महिलाले उक्त सेवा लिएको अस्पतालले जनाएको छ । गर्भपतन गराउन आउनेहरुमा २० देखि ४० वर्षसम्मका महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आएकामध्ये केही अविवाहिता पनि रहेका छन् ।
विक्रम संवत २०६५ मा जनस्तरबाट स्थापित सो अस्पतालले दुई वर्षअघि मात्र सुरक्षित गर्भपतनको लागि कानुनी मान्यता पाएको थियो ।
यसअघि जिल्लामा राप्ती उपक्षेत्रीय अस्पताल घोराही, मेरी स्टोप्स सेन्टर तुलसीपुर र परिवार नियोजन संघ दाङले मात्र उक्त सेवाको कानुनी मान्यता पाएका थिए ।
अस्पतालले सुरक्षित गर्भपतन गराएबापत एक हजार शुल्क लिने गरेको छ । अस्पतालका चिकित्सक निसा राई गर्भपतन गराउनुभन्दा परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वास्थ्यका लागि पनि राम्रो हुने बताउनुहुन्छ ।
अस्पतालमा गर्भपतन गराउन आउँदा आफूलाई चिन्ने डरले कतिपय महिलाले कानुनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित ढङ्गबाट गर्भपतन गराउने गरेको पाइएको छ । यसले महिलाको ज्यान जोखिममा पुराउने डा राई बताउनुहुन्छ ।
उहाँका अनुसार अन्यत्र गर्भपतन गराएर असफल भएपछि पेटमा आधा बच्चा लिएर चार/पाँचजना महिला अस्पतालमा आउने गरेको उहाँको भनाइ छ । रासस















प्रतिक्रिया