काठमाडौं, ४ कात्तिक । काठमाडौंको मैतीदेवी चोक नजिकै रहेको ‘छिन्ताङदेवी मासु पसल’को नाम यो क्षेत्रमा अत्यन्तै चर्चित छ । समयमा नजाने हो भने यो पसलमा खसीको मासु नपाइने उत्तिकै समस्या रहन्छ ।
पाइहालियो भने पनि एक छिन कुर्नुपर्ने हुन्छ । खसीको मासु किन्नका लागि यो पसलमा अधिकांस समय लाइनमा बस्नु पर्ने बाध्यता उपभोक्तालाई छ । यास्तो बाध्यता हुनुको एक मात्रै कारण हो, ‘गाउँको लोकल खसी’को मासु पाइनु । छिन्ताङदेवी मासु पसलमा भारतबाट ल्याइएको वा उन्नत जातका खसी काटिँदैन । र धेरै बोसो रहेका खसी पनि काटिँदैन ।
उपभोक्ताकै अगाडि काटेर तत्कालै भनेअनुसारको मासु उपलब्ध गराउने विशेषताका कारण पनि यो पसलमा भीड लाग्ने गरेको हो । भीड भए पनि उपभोक्ताले लाइनमै बसेर मासु लिने गरेको सञ्चालकको भनाइ छ ।
छिन्ताङदेवीमा उपत्यका बाहिरका जिल्ला दाङ, सल्यान, उदयपुरलगायतका जिल्लाबाट गाउँको लोकल खसी ल्याइ मासु विक्री हुन्छ । यो पसलमा दैनिक कम्तिमा दुई वटा खसी काटिन्छन् ।
चाढपर्व, दसैँ, तिहार वा विदाका दिन ‘छिन्ताङदेवी’मा न्यूनतम पनि वीस वटा खसी काटिन्छन् ।
छिन्ताङदेवी मासु पसलमा किन यति धेरै खसीको मासु विक्री हुन्छ भन्ने दैनिक नेपाल डट कमको जिज्ञासामा पसलका सञ्चालक धन के.सी.ले भन्नुभयो, ‘हाम्रो मासु पसलमा गाउँको लोकल खसीको मात्रै मासु विक्री हुन्छ । त्यही भएर उपभोक्ताको अलि धेरै भीड हुने गरेको हो ।’
उहाँले उपभोक्ताले माग गरेअनुसारको खसीको मासु उपलब्ध गराउने गरेकोले भीड लाग्ने गरेको हुन सक्ने उल्लेख गर्नुभयो ।
आज (बुधबार) का दिन के.सी.ले २५ वटा खसी काटेर मासु विक्री गर्नुभएको छ । दिनभरिमा २५ वटासम्म खसी काट्दा पनि सबै उपभोक्तालाई उहाँले मासु पुर्याउन सक्नु भएन ।
बेलुका साढे छ बजेसम्म पनि ग्राहकहरूको ओहरदोहर चलिरहेको देखिन्थ्यो । काटिएका प्रत्येक खसी कम्तिमा पनि २५ देखि ४० किलोसम्मका थिए ।
पसलका एउटा कुनामा राखिएको खसीका खुट्टाले पनि देखाएको थियो छिन्ताङदेवीमा आज अन्य दिनका तुलनामा धेरै खसी काटिएका थिए ।
बेलुका छ बजे मासु किन्न पुगेका एक उपभोक्ताले मासु नपाएपछि गुनासो गर्दै भने, ‘लामो समयदेखि मैले खसीको मासु यहीँबाट मात्रै किनेर खाने गरेको छु । अन्यत्रबाट लगेको खुसीको मासु मलाई मन पर्दैन । आज दसैँका कारण पाइन् ।’
दाङ जिल्लाको पुरनधारा गाविस वडा नम्बर ४ हँसपुर स्थायी घर भएका के.सी.ले विगत १२ वर्षदेखि मैतीदेवी चोकमा गाउँबाट ल्याएर खसीको मासु विक्री गर्दै आउनुभएको छ । मासु पसलको कमाइबाट उहाँले मैतीदेवी चोकमै घर पनि बनाउनु भएको छ ।
चार जनासम्मलाई रोजगारी दिनुभएका के.सी.ले दसैँका बेला खसीको मासु प्रति किलो ८ सय ८० रुपियाँका दरले विक्री गर्ने गरेको बताउनुभयो ।
‘अन्यत्र रेट के चलेको छ धेरै चासो राख्दिन’, उहाँले भन्नुभयो, ‘उपभोक्तालाई मर्का नपर्ने गरेर बजार मूल्यअनुसार मूल्य तोक्ने गरेको छु ।’

छिन्ताङदेवीमा के.सी.ले वीस किलोभन्दा साना खसी काट्न्नु हुन्न । र धेरै बासो भएका खसीको मासु पनि उहाँको पसलमा पाइँदैन ।
‘व्यापार व्यवसाय गर्ने हो भने उपभोक्ताले के चाहन्छ त्यो बुझ्नु जरुरी हुन्छ’, सञ्चालक के.सी.ले भन्नुभयो, ‘एक पटकको लागि मात्रै व्यापार गर्ने हो भने जे गरेपनि हुन्छ । राम्रोसँग व्यापार गर्ने हो भने उपभोक्ताको चाहनाअनुसारको खसी र मासु विक्री गर्नुपर्छ ।’
के.सी.ले खसीको मासु मन पराउने उपभोक्ताको मनसाय बुझेर सबैको चित्त बुझाउन माहिर छन् । भन्छन्, ‘उपभोक्ताले कस्तो मासु खोजेको छ । उसलाई देख्नेवित्तिकै बुझ्न सकिन्छ ।’
दसैँमा मासु धेरै खपत हुने भएकाले उनले खसीको इन्तजाम गरेर राखेका छन् । बन्द हड्तालका बाबजुद पनि के.सी.ले थुप्रै खसी लिएर राखेको बताउनु भयो ।
‘मेरो पसलमा आउने नियमित ग्राहकका लागि दसैँमा आवश्यक पर्ने खसीको मासु उपलब्ध गराउन सक्छ’, उहाँले भन्नुभयो, ‘दसैँमा मासु जथाभावी खान हुँदैन । अलि भाँत पुराएर खाएमा त्यसले बेफाइद गर्दैन । अन्यथा स्वास्थ्यमा समस्या बनाउँछ ।’

















प्रतिक्रिया