काठमाडौं, ३ कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उपयुक्त उम्मेदवार उठाउने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज (मंगलबार) कोइराला निवास महाराजगञ्जमा आयोजना गरेको विशेष साक्षात्कारमा उहाँले भन्नुभयो, ‘तपाईहरू ढुक्क हुनुस्, कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन्छ ।’
उहाँले लोकतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयनको लागि पनि उम्मेदवारी दिनु अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले छलफलमा छौँ, पार्टीले निर्णय गरेर उपयुक्त पात्रलाई उम्मेदवार बनाउँछौँ ।’
कोइरालाले प्रधानमन्त्री निर्वाचनमा पनि कांग्रेसले आफूलाई उम्मेदवार बनाएकोले आफू उम्मेदवार बनेको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी लोकतन्त्र र मधेस आन्दोलनको पक्षमा भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले उम्मेदवारी दिएकै कारण आन्दोलनमा रहेका मधेसवादी दलहरू निर्वाचनमा सहभागी भए । यसले समस्या समाधानको बाटो खुलेको छ । अब समस्या समाधान भएर जान्छ ।’
उहाँले अगाडि भन्नुभयो, ‘सहमति को कुरा ठीक हो, त्यो हामी पनि चाहन्छौँ, तर प्रजातन्त्रतको सुन्दरपक्ष पनि त हो नी प्रतिष्पर्धा ।’
सभापति कोइरालाले तत्काल सरकारले मधेसको समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो ।
सरकारले गठन गरेको बार्ता समितिमा कांग्रेस नबस्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले मलाई कांग्रेसको तर्फबाट बार्ता टोलीमा सहभागिता हुनु पर्यो भन्नु भएको थियो । तर कांग्रेस त्यसमा सहभागी हुँदैन । मैले प्रधानमन्त्रीलाई कांग्रेस वार्ता समितिमा सहभागी हुँदैन । बाहिरबाट गर्ने सबै सहयोग गर्छौ भनेको छु ।’
पछिल्लो समयमा नेपालमा आपूर्तिमा देखिएको समस्याको विषयमा राखिएको जिज्ञासामा कोइरालाले आफूहरू सरकारमा बस्दा वा नबस्दा बोलीमा फरक नहुँने भन्दै कुटनीतिक तवरबाट समस्याको समाधान खोज्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीहरू नाकाबन्दी भन्छौ, उहाँहरूले रोकेको छैन, तपाईहरूकै कारण भएको हो भन्नु हुन्छ । मैले भारतीय राजदूतलाई बोलाएर भनेको थिए, यो नराम्रो स्थिति भयो नाका खोल्नु पर्योभन्दा उहाँले पनि त्यस्तै भन्नु भयो । नेपाल–भारत सम्बन्धमा समस्या छ, यसलाई कुटनीतिक तवरले समाधान गर्नुपर्छ ।’















प्रतिक्रिया