
काठमाडौं, ३ कात्तिक । सरकारी वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केही शीर्ष नेताहरूसँग मुलुकको विद्यमान समस्या समाधानका लागि प्रारम्भीक वार्ता गरेको छ ।
काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा आज (मंगलबार) भएको वार्तामा मधेसी दलहरूले अगाडि सारेका मागका विषयमा छलफल भएको हो ।
मधेसी मोर्चासँगको प्रारम्भीक वार्ताका लागि सरकारी वार्ता टोलीका संयोजक तथा उप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापासहितका सदस्य पुगेका थिए ।
छलफलका क्रममा मधेसी मोर्चाका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताका लागि आफूहरूले यसअघि सरकारलाई बुझाएका माग पनि पूरा हुन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।
ठाकुरले वार्ताका लागि आफूहरूले अगाडि सारेका न्यूनतम मागलाई पूरा गरे मात्रै ठोस वार्ता अगाडि बढ्ने बताउनुभएको तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो ।
सरकारी वार्ता टोलीले मधेसी मोर्चासँग नाकाबन्दीको कार्यक्रमलाई हेरफोर गरेर अरु आन्दोलन गर्न सुझाव दिएका थिए । तर मधेसी मोर्चाले सरकारी पक्षको प्रस्तावलाई ठाडै अस्वीकार गरेको थियो ।
मधेसी मोर्चाका तर्फबाट वार्तामा तमलोपा अध्यक्ष महन्थ ठाकुर र सहअध्यक्ष हृदयश त्रिपाठीको सहभागिता रहेको थियो ।
सरकारी वार्ता टोलीबाट भने संयोजक एवम् पराष्ट्रमन्त्री कमल थापा, कानुनमन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र विना विभागीय मन्त्री रामजनम चौधरीको सहभागिता रहेको थियो ।












प्रतिक्रिया